नेपालमा एकजना कोरोनाभाइरस सङ्क्रमितले अर्को व्यक्तिलाई सङ्क्रमित बनाउने पछिल्लो दरलाई लिएर गम्भीर चिन्ताहरू व्यक्त भइरहेका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलका अनुसार हाल एकजना सङ्क्रमितले दुईभन्दा बढीलाई सङ्क्रमित बनाइरहेका छन्।

“यूके भेरिअन्ट त अझ बढी सङ्क्रामक छ। त्यो फैलियो भने एकजना सङ्क्रमितले चार जनासम्मलाई सङ्क्रमित बनाउन सक्छन्,” उनले थपे।

सरकारी अधिकारीहरूका अनुसार नेपालमा यूके भेरिअन्टका साथै डबल म्यूटन्ट भेरिअन्ट पनि देखिइसकेको छ।

नेपालमा पछिल्लो समय दैनिक परीक्षण गरिनेमध्ये औसतमा ३० प्रतिशतभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुने गरेको सरकारी तथ्याङ्कले देखाउँछ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीवार नेपालमा कोरोनाभाइरस महामारी शुरू भएयताकै २४ घण्टाको अवधिमा सबैभन्दा धेरै ३५ जनाको मृत्यु भएको थियो।

हालै गरिएको एउटा सरकारी अध्ययनले कोरोनाभाइरस सङ्क्रमण दर उच्च भएमा जेठ मसान्तसम्ममा दैनिक ११,००० नयाँ सङ्क्रमित देखिन सक्ने प्रक्षेपण गरेको छ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण. सन् २०२० जुनदेखि साप्ताहिक सङ्क्रमण सङ्ख्या.  सबैभन्दा बढी सङ्क्रमण भएको साता गत वर्ष अक्टोबर १९ देखि २५ सम्म थियो।.

प्रक्षेपण के छ?

अध्ययनअनुसार दैनिक ११,००० सङ्क्रमित थपिएमा त्यसको १५ प्रतिशत अर्थात्‌ १,६०० बिरामी दैनिक भर्ना गर्नुपर्ने र ती अक्सिजन आवश्यक पर्ने बिरामी हुन सक्छन्।

तीमध्ये तीनदेखि पाँच प्रतिशतलाई आईसीयू सेवा आवश्यक पर्न सक्ने अध्ययनको आकलन छ। यसको अर्थ दिनहुँ पाँच सय जनालाई आईसीयू सेवा आवश्यक पर्नसक्ने छ।

नयाँ भेरिअन्ट फैलिँदै गए असार मसान्तसम्ममा सङ्क्रमितको सङ्ख्या नौ लाखसम्म पुग्न सक्ने डा. पौडेल बताउँछन्।

अहिले देखिएको सङ्क्रमण दरले भारतमा जस्तै स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आउनतर्फ विज्ञहरूले सचेत गराउँदै आएका छन्।

नेपालको अवस्था कस्तो होला?

“परीक्षण गरिएकामध्ये सङ्क्रमित हुने सङ्ख्या र एकजना सङ्क्रमितले अर्को व्यक्तिलाई सङ्क्रमित बनाउने दर हेर्दा हाम्रो स्वास्थ्य प्रणाली धान्न नसक्ने कहालीलाग्दो अवस्था आउन सक्ने देखिन्छ,” डा. पौडेलले भने।

सङ्क्रमितमध्ये धेरैलाई अहिले नै अक्सिजन दिएर उपचार गर्नपरिरहेको अस्पतालहरूले बताउँदै आएका छन्।

“अहिले नै त्यस्तो अवस्था छ र आईसीयूमा शय्या पाउन बिरामीले पालो कुर्नुपरेको छ भने जेठ मसान्तसम्ममा दैनिक पाँच सयदेखि आठ सय जनालाई त्यो सेवा कसरी दिन सकिएला र?,”सरकारी अध्ययनमा सहभागी एक विज्ञले प्रश्न गरे।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार बिहीवारसम्म नेपालभरि ३३७ सङ्क्रमित आईसीयूमा र १०७ जना भेन्टिलेटरमा छन्।

नेपालको क्षमता कति छ?

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपालमा जेनरल शय्याको सङ्ख्या १८,९१७ छ।

त्यसैगरी देशभरि आईसीयूको सङ्ख्या १,४८६ र भेन्टिलेटरको सङ्ख्या ६३४ रहेको छ।

कोरोनाभाइरस महामारीपछि केही थपिएर तिनीहरूको सङ्ख्या अहिले यति पुगेको हो।

महामारीअघि जेनरल शय्याको सङ्ख्या १४,८९६ थियो भने आईसीयूको सङ्ख्या १,१४८ र भेन्टिलेटरको सङ्ख्या ४४२ थियो।

 

कहिलेबाट घट्न थाल्छ?

खोप

नेपालमा सङ्क्रमितको सङ्ख्या उच्च बिन्दुमा पुगेर घट्न थाल्ने समयलाई लिएर विज्ञहरूको मत विभाजित देखिन्छ।

हर्ड इम्युनिटीको विकास र कोभिड खोप पनि दिन थालिएको अवस्थामा लामो समयसम्म सङ्क्रमण अनियन्त्रित गतिमा फैलिन नसक्ने चिकित्सक तथा अनुसन्धानकर्ता डा. किरण पाण्डेको दाबी छ।

“सङ्क्रमित हुने तथा रोगप्रतिरोधी क्षमताको विकास हुने मानिसहरूको सङ्ख्या ४५/५० प्रतिशत पुगिसकेपछि महामारीलाई ओरालो लाग्नुको अर्को विकल्प हुँदैन,” उनले थपिन्।

तर डा. पौडेलका अनुसार प्रतिबन्धात्मक कदमहरू कत्तिको प्रभावकारी हुन्छन् त्यसमा पनि निर्भर गर्ने बताउँछन्।

 

चेन ब्रेक गर्न कति समय?

नेपालका विभिन्न जिल्लामा अहिले सङ्क्रमणको चेन ब्रेक गर्न भन्दै एक साताका लागि निषेधाज्ञा लागु गरिएको छ।

तर डा. पौडेल नै त्यो पर्याप्त नहुने बताउँछन्। “मेरो विचारमा चेन ब्रेक गर्नका लागि त कम्तीमा तीनदेखि चार हप्ताको लकडाउन आवश्यक देखिन्छ।”

एक हप्ते निषेधाज्ञा चेन ब्रेकका लागि पर्याप्त नहुने कुरामा सहमत डा. पाण्डे प्रतिबन्धात्मक कदमसँगै कन्ट्याक्ट ट्रेसिङ र परीक्षण उत्तिकै आवश्यक हुने बताउँछिन्।

“मान्छेहरू घरमै गुम्सिएर बसे अनि परीक्षण गराउन गएनन् भने निषेधाज्ञाको उपादेयता नै हुन्न,” उनले भनिन्।

बिबिसीबाट