काठमाडौं, १९ माघ । काठमाडौं महानगरपालिकाले कमलपोखरी विस्तार योजनाअनुसार महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग भत्काएको छ ।
आज साँझ काठमाडौं महानगरपालिकाले डोजर लगाएर ती भवन भत्काएको हो । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले कमलपोखरीको गुरुयोजना अनुसार कमलपोखरी पुनर्निर्माण लागि ती कंक्रिट संरचना भत्काएको जानकारी दिनुभयो। ‘कलपोखरी वरीपरी महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संगक्लब भवनलगायतका संरचना थिए,’ उहाँले भन्नुभयो, ‘हामीले पूर्व योजना अनुसार नै ती संरचना भत्काएका हौँ ।’
ज्ञवालीले योजना अनुसारको काम अघि बढाउने र त्यहाँ सुन्दर पोखरी निर्माण गर्ने बताउनुभयो । ‘हामीले पोखरी क्षेत्रभित्रै रहेको महानगरीय प्रहरी वृत्तको भवन पनि भत्काएका छौँ,’ उहाँले भन्नुभयो ‘अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ । त्यहाँ कंक्रिटको प्रयोग गर्दैनौं । समान्य रुपमा सिमेन्टको प्रयोग भने हुन्छ ।’ ज्ञवालीले अहिले चर्चा गरे जस्तो पोखरीमा कंक्रिट संरचना प्रयोग गर्ने कुनै योजना नरहेको पनि दाबी गरे। पछिल्ले समय विघटित संसदका सांसद गगन कुमार थापाले कमलपोखरीमा अनावश्यक बखेडा झिकेको भन्दै महानगरपालिकाले पुनर्निर्माणको काम नरोक्ने चेतावनी दिएको छ ।
प्रमुख शाक्यले केही दिन भित्रै कमलपोखरी पुनर्निर्माणबारे पत्रकार सम्मेलन नै गरेर जानकारी दिने बताउनुभएको छ । कंक्रिट संरचना भत्काउँदा सम्पदाप्रेमी सुशन बैद्यलगायत पनि कमलपोखरी पुग्नु भएको थियो । उनीहरुले ती संरचना विना जानकारी भत्काएको भन्दै अवरोध गर्न खोज्दा केहीबेर प्रहरीसँग ठेलमठेल पनि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्