ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बडादशैँको आज सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै, बढाइँ प्रतीकात्मक हुने


एबीसी न्यूज
कार्तिक ७, २०७७ शुक्रबार  ७ : २६ बजे

काठमाडौं, ७ कात्तिक ।  बडादशैँ अन्तर्गत नवरात्रको आज सातौँ दिन फूलपाती । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने धर्मशास्त्रविद्हरु बताउँछन् ।

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याउन लागिएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधि मात्र पूरा गरिने जनाइएको छ ।

राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुँदै आएका छन् ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्छ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गाभवानीको प्रसादका रुपमा टीका थाप्न आआफ्ना घर फर्कने क्रम अझ तीव्र हुन्छ ।

फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटेपिङले दशैँको रौनकलाई अझ बढाउँछ । यस वर्ष भने कोरोनाका कारण शहरबजारमा भीड हुने गरी पिङ हालेको देखिँदैन ।

फूलपाती बढाइँ प्रतीकात्मक हुने

नेपाली सेनाले आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी उक्त समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुनेछिन् । संवैधानिक व्यवस्थानुसार उनी नेपाली सेनाका परमाधिपति हुन् ।

यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिनेछ ।

इतिहाकार एवं प्राज्ञ दिनेशराज पन्तका अनुसार दुर्गापूजा एवं विजयोत्सवसँग जोडिएको फूलपाती बढाइँको लामो इतिहास रहे पनि टुँडिखेलको हालको फूलपाती बढाइँ पृथ्वीनारायण शाहको समयदेखि हुँदै आएको छ ।

अघिल्ला वर्ष सेनाले भव्य समारोह आयोजना गरी फूलपाती बढाइँ हर्षोल्लासका साथ मनाउँदै आएको थियो । पूर्वउपरथी जगदीशचन्द्र पोखरेल भन्छन्, ‘मुलुकको पहिचान, संस्कृति र परम्परालाई जीवन्त तुल्याउने सन्दर्भसँग गाँसिएको फूलपाती बढाइँले गर्विलो इतिहास बोकेको छ ।’

कोभिड–१९ को संक्रमणबाट उत्पन्न परिस्थितिका कारण संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र यस वर्षको फूलपाती बढाइँ आयोजना गरिने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताउनुभयो।

उहाँका अनुसार यस वर्षको बढाइँ थोरै कार्यक्रम सामेल गरिएकाले छोटो अर्थात् करीब आधा घण्टाको हुनेछ ।

सो अवसरमा सेनाका थोरै सकलदर्जाको सहभागितामा लहरे, एकठ्ठाका अतिरिक्त तोप बढाइँ र ब्याण्ड प्रदर्शन गरिनेछ ।

कोभिड–१९ जोखिमका कारण पाहुनाको संख्या कटौती गरी १०० जनामा सीमित गरिने छ । सबै पाहुनालाई उपस्थित हुने स्थानमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

विगतमा फूलपाती बढाइँ हर्षोल्लाससँग मनाउने र त्यसपछि सुरक्षाका लागि अत्यावश्यक जनशक्तिलाई ब्यारेकमा राखेर अरुलाई दशैँ मनाउन बिदा छाड्ने सेनाको चलन थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको ७७औँ गणतन्त्र दिवस : कर्तव्य पथमा देखियो सैन्य शक्ति र सांस्कृतिक झलक (फोटोफिचर)

काठमाडौं छाडेर मधेश झरे गगन

सम्बन्धित

भारतको ७७औँ गणतन्त्र दिवस : कर्तव्य पथमा देखियो सैन्य शक्ति र सांस्कृतिक झलक (फोटोफिचर)

काठमाडौं छाडेर मधेश झरे गगन

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

भारतमा ७७औँ गणतन्त्र दिवसको रौनक: युरोपेली नेताहरू मुख्य अतिथि

सिरहामा ‘हेभीवेट’ भिडन्त : नौ पूर्वमन्त्री एउटै जिल्लामा चुनावी मैदानमा

काठमाडौँ–२ : भीड धेरै, तर जितको लडाइँ सीमित हातमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com