काठमाडौँ, २५ असोज । तीन जना बुटवलका र एक जना तिलोत्तमाका वृद्धवृद्धाको गएराति र आज बिहान ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी डाक्टर बिष्णु गौतमकाअनुसार बुटवल ११ की ६१ वर्षकी महिला, बुटवल १ का ७० वर्षका पुरुष, बुटवल ११ का ८४ वर्षका पुरुषको अस्पताल लैजाने क्रममा बाटोमै र रुपन्देही तिलोत्तमा ३ की ६६ वर्षकी महिलाको दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा ज्यान गएको हो ।
यस्तै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन जनाको ज्यान गएको छ । सुनसरीको दुहवीका ६४ वर्षका पुरुष र धनकुटाकी ६१ वर्षकी महिलाको आज बिहान ज्यान गएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार धरान–८ की एक महिलाको गएराति ज्यान गएको छ । यसैगरी बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोकका ८४ वर्षका पुरुष र कोहलपुर नगरपालिका वडा नम्बर ८ की ७१ वर्षकी महिलाको उपचारका क्रममा ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै भरतपुर महानगरपालिका वडा नं १ की ७५ वर्षकी वृद्धाको चितवन मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो । दम, उच्च रक्तचाप र निमोनियासम्बन्धी समस्या भएकी उहाँको अस्ति पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो।
कोरोना संक्रमणबाट भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ । ६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा। प्रमोद पौडेलले जानकारी दिनुभयो । असोज १४ गते पीसीआर परीक्षण गरिएकोमा १६ गते उनलाई कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज २३ गते भरतपुर अस्पताल भर्ना गरिएको थियो । त्यसअघि उनलाई भरतपुरकै पुष्पाजली अस्पतालमा तीन दिन उपचार गरेर डिस्चार्ज गरिएको थियो ।
सुर्खेतमा ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
सुर्खेतमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका–१०, की ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएकोे प्रदेश अस्पतालका कोरोना फोकल प्रशन डा. नवराज केसीले जानकारी दिनुभयो ।
यसैगरी काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा १० दिनदेखि उपचाररत ५२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । उनी जन्डिसकोसमेत बिरामी थिए ।
कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु
कैलालीको धनगढी उपमहानगरपालिका–३ का ५२ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।असोज १९ गते सेती प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गराएका उनमा २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । तर, उनी २३ गते मात्रै अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । गए राति करिब २ बजेर २५ मिनेटमा उनको मृत्यु भएको श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्