Accuracy, Balance & Credibility

हरेक युगमा रामको जन्म त हुन्छ, तर उसले बनवास जानुपर्ने किन ? गान्धीले गोली खानुपर्ने र क्राइष्टलाई सुलीमा चढाइनुपर्ने कारण के ? – रमेशनाथ पाण्डे,

abcnepal

१०७ औं विपी जयन्तीको अवसरमा प्रजातान्त्रिक विचारधारासँग निकट रहेका विभिन्न व्यक्ति, विज्ञ र राजनीतिज्ञहरुसँग एबीसी टेलिभिजनले संवाद गरिरहेको छ । विशेषगरी, बीपीले नेपाली राजनीतिमा बहुआयामिकरुपमा पु¥याउनुभएको योगदानबारे कुराकानी भइरहेका छन् । यसै सन्दर्भमा आज भने पूर्व सञ्चार तथा उद्योग तथा परराष्ट्रमन्त्री एवम् राजनीतिक विश्लेषक रमेशनाथ पाण्डेसँग सपना थामी र धु्रव अधिकारीले गरेको संवादको पूर्णअंशः

बीपी कोइराला – एउटा क्रान्तिको नायकले पटक–पटक प्रतिक्रान्तिको सिकार हुनुप¥यो

नेपालको इतिहासको विभिन्न कालखण्डहरुमा कालजयी व्यक्तित्वहरु जन्मिएका छन् । विश्वेश्वरप्रसाद कोइराला १०४ वर्ष लामो राणा शासनको समाप्ति र प्रजातन्त्रको प्रारम्भको मूल कडी हुुनुहुन्थ्यो । उहाँको जीवनको पहिलो पाटो क्रान्तिको तयारीमा र दोस्रो पाटो क्रान्तिलाई स्थापित गर्नमा बिते । यथार्थमा कुरा गर्दा विश्वेश्वरप्रसाद कोइरालालाई नेपालको इतिहासले मात्रै होइन, विश्वको राजनीतिक इतिहासले सम्झिंदाखेरीमा दुई किसिमले सम्झिन्छ जस्तो लाग्छ मलाई ।

पहिलो कुरा समयले उहाँप्रति न्याय कहिल्यै पनि गरेन । बीपी कोइराला २००७ सालको क्रान्तिको नायक हुनुहुन्थ्यो, जसको नेतृत्वमा नेपाली जनताले क्रान्तिी गरे जुन क्रान्तिले नेपालललाई प्रजातन्त्रमा प्रवेश गरायो । तर, नेपालको पहिलो नागरिक प्रधानमन्त्री हुने स्वभाविक अवसर, स्वभाविक हक विश्वेश्वरप्रसाद कोइरालाबाट छिनियो । २००७ सालपछि जब प्रजातन्त्रको अभ्यास प्रारम्भ भयो, उहाँलाई जनताको आफ्नो प्रतिनिधि छान्ने हक स्थापित गर्नलाई त्यो हकलाई सजीव र जीवन्त तुल्याउनको लागि अर्को ८ वर्ष संघर्ष गर्नुभयो । त्यो ८ वर्ष लामो संघर्षपछि उहाँ जनताबाट निर्वाचित भएर उहाँ प्रधानमन्त्री हुनुभयो । उहाँ प्रधानमन्त्री भएपछि १६÷१७ महिना प्रधानमन्त्री हुनुभयो र त्यसपछि उहाँलाई हटाइयो र लामो समय जेल जीवन बस्नुप¥यो । एउटा क्रान्तिको नायकले पटक–पटक प्रतिक्रान्तिको सिकार हुनुप¥यो, एउटा उदाहरण विश्वेश्वरप्रसाद कोइराला हो । तर विश्वेश्वरप्रसाद कोइरालाको जीवनीको अर्को पाटो के छ भने, उहाँमा अदम्य उत्साह थियो र उहाँको आफ्नो जुन राजनीतिक सिद्धान्त थियो, त्यसमा निष्ठा थियो र त्यसमा निरन्तर तपस्या र संघर्ष गरिरहने दृढता थियो । त्यति निरन्तरता र दृढता भएको नेतृत्व नेपालमा मात्रै होइन, दक्षिण एशियामै पनि विरलै पाइन्छ ।

विश्वेश्वरप्रसाद कोइराला राजनीतिमा नलागेको भए नेपालको साहित्य निकै धनी हुन्थ्यो

तपाईको दर्शक, श्रोता र पाठकहरुलाई विश्वेश्वरप्रसाद कोइरालासँग परिचित गराउँदा विश्वेश्वरप्रसाद कोइरालाको दुई वटा भाग छ । पहिलो भाग साहित्यिक र र दोस्रो भाग राजनीतिक । मैले यसो किन भनेको भनें, यदि विश्वेश्वरप्रसाद कोइराला राजनीतिमा नलागेको भए नेपालको साहित्य निकै धनी हुन्थ्यो उहाँबाट । उहाँ साहित्यमा मात्रै लाग्नुभएको भए, नेपालको राजनीति गरिब हुन्थ्यो । उहाँको राजनीतिमा धेरै लामो समय दिनुभएको हुनाले साहित्य सम्पन्न हुन सकेन । विश्वेश्वरप्रसाद कोइरालाको परिचय साहित्यिक महारथीको रुपमा पनि छ र राजनीतिक श्रेष्ठ नेताको रुपमा पनि छ । पहिले म तपाईंलाई राजनीतिका कुरा त धेरैले गरिसके, साहित्यिक पाटोमा लिएर जान्छु ।

विश्वेश्वरप्रसाद कोइराला, उहाँको नाम राजनीतिमा स्थापित हुनुभन्दा अगाडि नै उहाँको दोषी चस्मा कथा लोकप्रिय भइसक्याथ्यो । उहाँको सामिप्यता सूर्यविक्रम ज्ञवाली, लैनसिंह बांग्देलहरुसित थियो । राजनीतिमा २००७ सालदेखि २०१९ सालसम्म उहाँको साहित्यले विश्राम लिएको देखिन्छ । २०१९ सालबाट राजनीतिले विश्राम लिएर साहित्य सक्रिय भएको देखिन्छ । जति वटा साहित्य, उपन्यास र जीवनी लेख्नुभयो, त्यो यही बेलामा लेखिएको हो । नियतिलाई दोष दिनुस्, त्यसमा केही भूमिका खेल्ने अवसर मैले पाएँ ।

बीपी कोइरालालाई सुन्दरी जेलमा सेनाको बन्दी भएर बसेको बेलामा उहाँलाई पढ्नको लागि किताबहरु पठाउने मौका मैले पाएँ । उहाँलाई किताबहरु पठाउँथे, यसकारण उहाँको अध्ययनमा, रुचीका सम्बन्धमा मलाई बढी ज्ञान छ । अर्को महिना मेरो किताब आउँदैछ, क्रान्ति र प्रतिक्रान्ति भन्ने । त्यसमा धेरै विश्वेश्वरप्रसाद कोइरालाको बारेमा धेरै कुरा लेखिएका छन् । त्यो सुन्दरीजल जेलमा उहाँलाई बन्दी भएर बसेको बेलामा उहाँले महिनामा एक दिन मात्रै चिठ्ठी लेख्न पाउनुहुन्थ्यो । उहाँकहाँ चाहीं बाहिरबाट चिठ्ठी जति पनि जान सक्थ्यो तर उहाँले महिनामा एक चोटी मात्रै चिठ्ठी लेख्न पाउनुहुन्थ्यो र त्यो चिठ्ठी मेरो नाममा लेखनुहुन्थ्यो । त्यो बेलामा कम्प्युटर थिएनन्, टाइपराटर जेलमा लान मिल्दैनथ्यो । सबै हस्तलिखित चिठ्ठीहरु धेरै छन् । त्यसमध्येका केही चिठ्ठीहरु मेरो अब निस्किंदै गरेको पुस्तक क्रान्ति र प्रतिक्रान्तिमा पनि छ । त्यसमा उहाँले लेखेका मैले कचकच गरेको, जवाफ दिएको, झगडा गरेको विषयमा चर्चाहरु गरिएको छ । यी कुराहरु विपीको अत्यन्त लोकप्रिय पुस्तक जेल–जर्नलमा पनि प्रकाशित छ ।

हरेक युगमा रामचन्द्रको जन्म त भएको छ तर उनले बनवास जानुपर्ने किन ? महात्मा गान्धीले गोली खानुपर्ने कारण के ? क्राइष्टलाई सुलीमा चढाइनुपर्ने कारण के ?

बीपी कोइरालाले हाम्रो अहिले यृुवा जुन पुस्तामा हुनुुहुन्छ, युवा पुस्ताको श्रेष्ठता छ नेपालको राजनीतिमा । यो नेतृत्वको पुस्तालाई किताब पढ्ने फुर्सदै छैन, अध्ययनशील मान्छेलाई भेट्ने जाँगर नै छैन । गम्भिर मामिलामा असमत कुराहरु सुन्ने रहर नै छैन, उहाँहरु धेरै ज्ञानी हुनुहुन्छ । बीपी कोइराला अध्ययनशील हुनुहुन्थ्यो तर, बीपी र म बीचमा धेरै छलफल हुन्थे, कुराकानी हुन्थ्यो चिठ्ठीका माध्यमबाट पनि जुन कुराहरु अब आउने पुस्तकमा पनि उल्लेख हुनेछन् । एउटा सम्झना गराउँ, मैले एकदिन बीपीलाई एउटा चिठ्ठीमा के सोधे भने, यो नियतिको दोष हो वा मानिसकै कमजोरी हो यो के हो ? हरेक युगमा रामचन्द्रको जन्म त भएको छ तर उनले बनवास जानुपर्ने किन ? महात्मा गान्धीले गोली खानुपर्ने कारण के ? क्राइष्टलाई सुलीमा चढाइनुपर्ने कारण के ? अनि तिनैलाई चाहंी म महामानव भनेर देवत्व दिएर उनीहरुको पूजा गर्नुपर्ने कारण के ? किन यो विरोधाभाषपूर्ण मानिसको चिन्तनमा, व्यवहारमा, शैलीमा, संस्कृतिमा किन यो विरोधाभाष ?

त्यसमा विश्वेश्वरप्रसाद कोइरालाको जवाफ के थियो भने, एउटा मानिसमा दुई किसिमको स्वभाव हुन्छ, एउटा स्वभाव स्थिरतावादी, जस्ताको तस्तै अवस्थामा बसिरहने । त्यसमा केही एउटा नेतृत्व आउँछ जो त्यसमा चित्त बुझाउँदैन र परिवर्तन चाहन्छ । त्यो परिवर्तन चाहने जो नेतृत्व छ त्यो नेतृत्वलाई स्थिरतावादी समाजले स्विकार गर्दैन अनि रामचन्द्रलाई बनवास पाठाइदिन्छ, महात्मा गान्धीलाई गोली हान्दिन्छ अनि जिसस क्राइस्टलाई सुलीमा चढाइन्छ । अन अलि समयपछि मानिसमा चेतना आउँछ, अनि सम्झन्छ, उल्ले भनेको कुरा ठीकै रैछ, अनि तयसलाई ग्रहण गर्न थाल्छ । त्यो ग्रहण गरेपछि उसले देवत्व हासिल गर्छ ।

त्यो मानिस जसलाई हिजो वनबास पाठाइयाथ्यो, गोली हानियाथ्यो, सुलिमा चढायथ्यो त्यसलाई पूजा गर्न थाल्छन् । मैले यो स्मरण यसका निम्ति गराएको हो कि तपाईंका दर्शकहरुलाई के बताउन खोजिरहेको हो भने, विश्वेश्वरप्रसाद कोइराला भनेको एउटा पृथक नेता हो यसलाई राजनीतिक नेताहरुको चलनचल्तीको वर्गमा नराख्नुस् । उनको बारेमा अध्ययन गर्न र बुझ्न अझै बाँकी नै छ यसलाई निरन्तरता दिनुपर्छ । दोस्रो कुरामा उहाँको व्यक्तित्वको बारेमा कुरा गरौं, मलाई लाग्छ, मरोे नेपालका र विश्वका नेताहरु, धेरै प्रधानमन्त्री र राष्ट्रपतिहरुसँग सम्पर्क भाको छ, धेरै सरकार प्रमुखहरुसँग पनि कुराकानी भएको छ तर त्यो सबै भीडमा विश्वेश्वरप्रसाद कोइरालाई अलग्गै राखेर म हेर्छु । उहाँ एकदमै ह्याण्डसम् हुनुहुन्थ्यो, उहाँको हाइट्, उहाँको लवाई, मुखको रंग, मुस्कान, हेराई, हिडाई, व्यवहार, उहाँको शैली, बोली, चरित्र सबै अरुकोभन्दा पृथक थिए । सबैलाई समिष्टगतरुपमा हेर्दाखेरीमा हि ह्वाज् अ ह्याण्डसम् म्यान् । उहाँको स्वभाव विचित्रको थियो ।

बीपीलाई सरस्वतीको बरदान थियो, लक्ष्मीको श्राप थियो 

सरस्वतीको बरदान भएको हुनाले उहाँले उहाँको विद्धता, उहाँका बोलीमा मिठास, उहाँको लेखाईको सौन्दर्यता त्यो विशिष्ट थयो । तर, लक्ष्मीको श्राप भएको हुनाले उहाँको खल्तीमा कहिल्यै पैसा हुँदैनथ्यो । तपाईंहरुलाई सुन्दा आश्चर्य लाग्ला, यसलाई अझ डिटेलमा अब आउने मेरो पुस्तक क्रान्ति र प्रतिक्रान्तिमा व्यक्त ग¥याछु । उहाँ प्रधानमन्त्री हुँदा उहाँसँग जम्मा २ वटा मात्रै कोट थियो । सेतो लवेदा सुरुवाल, कोट र कालो टोपी लगाएर उहाँ हिड्नुहुन्थ्यो । जुन कुरा अहिलेका नेताहरुलाई अब दिनमै ४ वटा कार्यक्रममा जानुप¥यो भने, ४ किसिमको वस्त्र फेरेर हिड्नुपर्ने, ठाँटिएर हिड्ने नेताहरुको भीडमा विश्वेश्वरप्रसाद कोइरालाको स्वभाव अलि पृथक खालको छ, अपत्यारिलो खालको लाग्छ । अर्को चाहीं, उहाँ भाग्यमानी पनि हुनुहुन्थ्यो र सौखिन पनि हुनुहुन्थ्यो ।

उहाँका सौखहरु पु¥याउनका लागि उहाँले गलत व्यवहारहरु गर्न पर्दैनथ्यो । उहाँ प्रधानमन्त्री भएको अथवा प्रधानमन्त्री हुनु अगाडि उहाँको पार्टी सरकारमा भएको बेलामा उहाँको परिवारमा आर्थिक रुपमा यताउता गरेको, ठेक्कापट्टामा लागेर धन कमाएको आरोप उहाँका विरोधीहरुले समेत लगाउन सकेनन् । त्यस्तो त्यो अपवादको रुपमा उहाँलाई स्वीकार गर्नुपर्छ । बीपी कोइरालालाई रममा, ह्विस्कीमा इन्ट्रेस्ट् थिएन । मैले पनि उहाँले ह्विस्की खाएको कहिले पनि देखिनँ । विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री भएसम्म उहाँ धुम्रपान पनि गर्नुहुन्नथ्यो । जेल गएपछि उहाँले सुरु गर्नुभो, सिगार खानलाई । उहाँलाई मनपर्ने सिगार क्युबाको रोमियो जुलेट, म नै पठाउँथे उहाँलाई । उहाँ राम्रैसँग खानुहुन्थ्यो । अध्ययनको बारेमा उहाँलाई साहित्यमा रुचि थियो, राजनीति त उहाँको आफ्नो विषय नै भयो । दर्शनशास्त्रमा, धर्ममा थियो । बीपीको धार्मिक कुरा गर्दाखेरीमा अहिले बडो विचित्रको स्थिति छ, धर्मनिरपेक्षता, धर्मसापेक्षता, हिन्दुधर्म, यहाँ विभिन्न किसिमका धर्महरुको चहलपहल भइराखेको छ । त्यस विवादमा पहिलो पटक नेपाली समाज फसेको बेला छ ।

बीपीलाई ऋषिमुनि, सन्यासीहरुको विषयमा विशेष चासो थियो

विश्वेश्वरप्रसाद कोइरालाको आध्यात्मिक चिन्तनको पक्षमा जानुस्, उहाँले महाभारत, रामायण मात्र होइन, उपनिसदको पनि अध्ययन गर्नुभयो । धर्मका बारेमा चिठ्ठीमा उहाँ र मेरो बीचमा धेरै कुराहरु भएका छन्, त्यो मेरो किताबमा पढ्न पाउनुहुनेछ । उहाँलाई हरेक ऋषिमुनिहरुको विषयमा विशेष चासो थियो, अध्यात्मिक चिन्तन गर्ने खालको जोगीहरुसँग भेट्ने रुचि थियो ।

दुईटा कुरा दर्शकहरुलाई शेयर गर्न चाहन्छु । एउटा २०१६ सालमा उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो र उहाँ राजा महेन्द्रको पश्चिम भ्रमणमा जाँदा साथमा म पनि गएको थिएँ पत्रकारको रुपमा । सल्यानको एउटा जंगलमा त्यहाँ के सुन्नुभो भने, एकजना नागा बाबा बस्नुहुन्छ । उसको उमेर सय वर्ष कटिसक्याछ, उहाँलाई भेट्न हामी गएका थियौं । मेरो ज्ञानको कमीले गर्दा मैले धेरै कुरा बुझिँन । एकडेढ घण्टा घोडामा उकालो लागेर उहाँ जानुभएको थियो भन्नाले उहाँको रुचि त्यस्तो थियो ।

उहाँ प्रधानमन्त्री भएको बेलामा अहिले जुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उत्तरपट्टीको भिभिआईपी कक्ष छ, त्यो भन्दा पनि अझ उत्तरपट्टी एउटा समाधि छ, शिवपुरी बाबाको समाधिस्थल ।

शिवपुरी बाबा एकजना मात्रै त्यस्तो एसियन हो, जसलाई क्विन भिक्टोरियाले १२ पटकभन्दा बढी भेटेकी छन् भन्ने किताबमा लेखियाछ । उहाँ हिन्दुस्तानमा १८५७ को मुभमेन्टमा लागेर छोडेर, शिवपुरीमा गएर तपस्या गरेको हुनाले उहाँको नाम शिवपुरी बाबा भएको हो । त्यसपछि उहाँ काठमाडौं आउनुभयो, राजा महेन्द्रले ल्याएर त्यो एयरपोर्टको त्यो ठाउँमा उहाँलाई राखियो, त्यहाँ उहाँले समाधि लिनुभयो । उहाँको समाधिस्थल अहिले पनि त्यहाँ छ । प्रधानमन्त्री भएको बेलमा बीपी कोइराला र म त्यहाँ गएका थियौं । उहाँहरु दुई जनाको बीचमा धेरैबेर छलफल भएको सुन्याछु ।

म त पत्रकार थिएँ, कलम लिएर उनीहरुबीच भएको महत्वपूर्ण कुराहरु टिपीराखेको थिएँ । डायरी पल्टाउँदा त्यो कुराहरु मैले पनि पढ्छु । ईश्वरको बारेमा, आध्यात्मिक चिन्तनको बारेमा, हिन्दु धर्मको बारेमा गम्भिर चिन्तनहरु भाछ, विश्वेश्वरप्रसाद कोइराला मन्दिर जानुहुन्थेन होला, घरमा उहाँले पुजा गरेको मलाई पनि थाहा छैन । मैले बीपीको आमालाई पनि सोध्याथें । तर उहाँले पनि पुजामा रुचि थिएन भन्नभो । तर अध्ययनमा चाहीं रुची थियो, उहाँले पुरै अध्ययन गर्नुभाथ्यो । उहाँको त्यो आध्यात्मिक ज्ञानको भोक थियो । त्यो भोकको चिन्तनमा उहाँ निरन्तर लागिरहनुभयो ।

बीपीले विश्वजगतमा नेपालको निर्णय, नेपाल आफैंले नै गर्छ भन्ने स्थापित गर्नुभो

अब मानवीय पक्षको कुरालाई छोडेर बीपी कोइरालाको बारेमा कुरा गर्दाखेरी नेपालको परराष्ट्रनीतिलाई, अन्तराष्ट्रिय सम्बन्धलाई उहाँको अन्तराष्ट्रिय अध्ययनको बारेमा अलिकति बताउँ । उहाँको परराष्ट्रनीतिमा नेपालको अन्तराष्ट्रिय सम्बन्धमा उहाँले दिएको योगदान सदा स्मरणीय रहनेछ, सदा नेपालको अन्तराष्ट्रिय सम्बन्ध सञ्चालनमा संलग्न रहेका हामीजस्ता मानिसहरुलाई प्रेरित गर्ने कुरा के हो भने, नेपालको निर्णय नेपाल आफैंले नै गर्छ, उहाँले स्थापित गर्नुभो ।

त्यो अहिलेको सन्दर्भमा त्यो बेलालाई अहिले तपाईले मूल्यांकन गर्नुभो भने त्यो मूल्यांकन गलत हुन्छ, तपाईं जुन बेलाको मूल्यांकन गर्नुहुन्छ, त्यही बेलामा जानुपर्छ, । त्यसका बाध्यताहरु, त्यसका सिमित्त सिमानाहरु, चुनौतीहरु, त्यही अवस्थामा गएपछि मात्रै थाहा हुन्छ । अहिले मानिसहरु ठूल–ठूला कुराहरु ग¥या सुन्छु म । क्रान्तकिारी कुरा ग¥या सुन्छु म ।

जुन बेलाको म कुरा गरिराछु, जुन बेला म विश्वेश्वरप्रसाद कोइरालालाई जेलमा किताब पठाउँथे, त्यो बेला त बीपीको नाम मात्र लिन पनि डरमर्दो थियो । त्यो बेलामा जेल जानु भन्या मैले पनि साढे ३ वर्ष जेल बिताएको छु । जेल बिताएको भनेको अहिलेको जस्तो जेल जाने होइन । अहिले त, माइतीघरमा जुलुस निस्किन्छ, आमसभा हुन्छ, पुलिसले आएर समात्छ । समातिनेलाई पनि थाहा र समाउनेलाई पनि थाहा छ, केहीबेर आराम गर्ने हो, बेलुका छुट्ने हो तर त्यो बेला थाहा हुँदैनथ्यो । हुनसक्छ, १० वर्ष जेल पनि हुनसक्छ, हुनसक्छ, जिवितै फर्केर आउन नसक्ने पनि हुनसक्छ । त्यसैले मूल्यांकन गर्दा, त्यो मूल्यांकनको कडी सही हुनुपर्छ । प्रधानमन्त्री बीपी कोइरालाले आफ्नो कार्यकालमा इजरायलसित र पाकिस्तानसित नेपालको दौत्य सम्बन्ध स्थापित गर्नुभयो । इजरायलसँग दौत्य सम्बन्ध स्थापना भयो । त्यो बेलामा दक्षिण एसियामा श्रीलंका बाहेक कुनै पनि देशको इजरायलसँग सम्बन्ध थिएन ।

हिन्दुस्तानको पनि थिएन । अहिले हिन्दुस्तानको सम्बन्ध निकै घनिष्ठ छ । हामी त इजरायलबाट धेरै टाढिएका छौं । त्यो बेलामा इजरायलसँग दौत्य सम्बन्ध स्थापना गर्ने साहस हिन्दुस्तानका प्रधानमन्त्रीले पनि गर्न सक्नुभएको थिएन । नेपालले गरेर एउटा सप्राइज् दियो । विश्वलाई, दुइटै छिमेकीलाई कि, नेपाल आफ्नो निर्णय आफैं गर्छ भनेर । त्यस्तै, पाकिस्तानसित कुरा गर्दाखेरीमा, जुन बेलामा दौत्य सम्बन्ध स्थापना भयो । बीपी कोइराला प्रधानमन्त्री भएको बेलामा भारत र पाकिस्तानको सम्बन्ध अहिलेको भन्दा पनि ज्यादै खराब थियो । चीनसित पाकिस्तानको सम्बन्ध राम्रो थिएन, मात्रै नभनौं, शंकास्पद अवस्थामा थियो । किनभने, अमेरिकाको चीनविरोधी समूहमा, सैनिक समूहमा पाकिस्तान सम्मिलित थियो । दुइटै छिमेकीहरुको त्यस्तो अवस्था भएको बेलामा नेपालले पाकिस्तानसित दौत्य सम्बन्ध स्थापना ग¥यो । बीपी कोइरालाको कन्ट्रिब्यूसन त्यो हो ।

अर्को चाहीं बीपी कोइरालाको विश्वका अरु नेताहरुलाई संयुक्त राष्ट्र संघको साधारणसभाको मिसनमा भाग लिन जाँदा उहाँको बौद्धिकस्तरले, राजनीतिकस्तरले, इतिहासले, ज्ञानले उहाँलाई जुन हैसियसत दिन्थ्यो, त्यो हैसियतले उहाँलाई सम्मानको स्थानमा बसेर कुरा गर्न सजिलो थियो । त्यो अन्तराष्ट्रिय सम्बन्धमा दुइवटा कुराले महत्व राख्छ । एक जो त्यो, वार्ता गर्ने मानिसको हैसियत के ? त्यसको पृष्ठभूमि के ? पदमा आउने बित्तिकै त्यो सम्मानित हुँदैन अन्तराष्ट्रिय सम्बन्धमा विश्वसनीय हुँदैन, पत्यारिलो कुराहरु गरिंदैन । औपचारिकताका कुराहरु गरियला त्यसको निम्तिमा उसको पृष्ठभूमिले काम गर्छ, त्यो विश्वेश्वरप्रसाद कोइरालासँग थियो ।

नेपालको प्रजातन्त्र, नेपाली काँग्रेस र विश्वेश्वरप्रसाद कोइराला, यी तीनवटा एकअर्कासित जोडिएका छन्

बीपी कोइरालाको नेपालको राजनीतिको कुरा गर्ने हो भने, प्रजातन्त्रको कुरा गर्ने बित्तिकै नेपाली काँग्रेस त्यहाँ स्वतः आउँछ, तपाइले विश्व जनमतमा गएर अन्तराष्ट्रिय जगत्मा उभिएर कसैसित पनि कुरा गर्नुभो भने, डेमोक्रेसीको कुरा आउँछ, प्रजातन्त्रको कुरा गर्दा नेपाली काँग्रेसकै कुरा आउँछ, नेपाली काँग्रेसको कुरा गर्दा स्वतः विश्वेश्वरप्रसाद कोइरालाको कुरा आउँछ । त्यसर्थ, नेपालको प्रजातन्त्र नेपाली काँग्रेस, विश्वेश्वरप्रसाद कोइराला, यी तीनवटा एकअर्कासित जोडिएका छन् ।

त्यो जोडिएको कुरालाई हाम्रो राजनीतिक पूँजीको रुपमा हामीले त्यसलाई हेरेर विकास गर्न सक्नुपर्नेमा दुर्भाग्यवश त्यो बाटो नेपाली काँग्रेसले बिर्सिसक्याछ । अथवा, त्यो बाटो छोडेर अर्को बाटो खोज्दैछ त्यसकारण मैले बुझन् सकिरहेको छैन ।

नेपाली काँग्रेसलाई सम्झिदाखेरिमा मलाई कता–कता त्यो मृगको सम्झना आउँछ । मृग दौडिरहेको हुन्छ किनकी, उसमा कस्तुरीको एउटा मीठो बास आउँछ, त्यो कस्तुरी फेला पार्न मृग दौडिरहेको हुन्छ । मृगले बुझ्दैन, त्यो त उ आफैंसित छ, त्यहीबाट बास आइरहेको हुन्छ । नेपाली काँग्रेस त्यो कस्तुरीको सुगन्धबाट प्रभावित भएर त्यो अतृप्त तृष्णाले दौडिरहेको मृग बनेको छ । त्यसलाई थाहा छैन कि त्यो सुगन्ध आफैसित छ ।

चिन्न नसकेको, चिन्न नसक्दा के हुन्छ, मृगको भविष्यमा के लेखिएको हुन्छ ।

त्यसैले मुख्य कुरा के हो भनेदेखि त्यो जब हामीले विश्वेश्वरप्रसाद कोइरालालाई हामी सम्झिन्छौं, बीपी कोइरालाले नेपाली काँग्रेसmलाई एकल नेतृत्व पनि दिनुभयो, संयुक्त नेतृत्व पनि दिनुभयो । यो एकदम कन्ट्रयाक्डिक्टरी कुरा गरिराछु, तपाईसँग । असंगतिपूर्ण कुरा छ मैले भनेको । एकल नेतृत्व पनि बीपीलाई गर्न दिएको हो, समूहगत नेतृत्व पनि दिएको हो ।

सुवर्ण शमशेर, गणेशमान सिंह र सुर्यप्रसाद उपाध्याय यी तीनै नेतालाई नेतृत्व गर्ने – बीपी

सुवर्ण शमशेर जसले नेपाली काँग्रेसको आर्थिक चिन्तन तय गथ्र्यो, त्यो दुवै गुण विश्वेश्वरप्रसाद कोइरालासँग थिएन । गाउँघरमा गएर आम जनतासँग घुलमिल भएर बसेर, तिनलाई संगठन गरेर वृद्धि गर्ने गणेशमान सिंह हो । त्यो स्वभाव पनि बीपीमा थिएन । कोठामा बसेर अध्ययन गरेर, चिन्तन गरेर सामरिक रणनीति तयार गर्ने सुर्यप्रसाद उपाध्याय त्यो पनि बीपी कोइरालामा थिएन ।

तर तीनै वटालाई नेतृत्व गर्ने क्षमता चाहीं विश्वेश्वरप्रसाद कोइरालामा मात्रै थियो यसैले बीपी कोइराला सुवर्ण शमशेर, गणेशमान सिंह, सुर्यप्रसाद उपाध्यायको पनि नेता भए, नेपाली काँग्रेसको पनि नेता भए, सम्पूर्ण प्रजातान्त्रिक आन्दोलनको पनि नेता भए, अहिले पनि प्रजातन्त्रको कुरा गर्दा विश्वेश्वरप्रसाद कोइरालाको नाम लिएर मानिस प्रेरित हुन्छ, विश्विेश्वरप्रसाद कोइरालाको परिचय त्यही हो ।
तपशिलका कुरा गरेर अधिवेशन सफल हुँदैन, यसका लागि नेपाली काँग्रेसले सम्पूर्ण प्रजातन्त्रवादी प्रतिभाहरुलाई छाहारी दिन सक्नुपर्छ

नेपाली काँग्रेसको अधिवेशन जो हुँदैछ । त्यो अधिवेशनले सभापति छान्ला, कार्यसमिति छान्ला, को–को मान्छेहरु छान्ला ती सबै तपशिलका कुरा हुन् । तपशिलका कुरा गरेर त्यो अधिवेशन सफल हुँदैनन् मेरो दृष्टिमा । मिस्टर ए, मिस्टर जेड अथवा मिस्टर वाई सभापति हुनुहोला, त्यसले उसलाई फूलमाला, अबिर लगाएर लागिएला तर त्यसले नेपाली काँग्रेसको अब आउने अधिवेशन सफल हुँदैन । नेपाली काँग्रेसले बाटो तय गर्नुपर्छ, जुन एउटा नासो विश्वेश्वरप्रसाद कोइरालाले छोड्नुभाछ, जुन एउटा विचार प्रवाह गर्नुभाछ, जुन एउटा इतिहासको त्यो अंश छोडेर जानुभाछ त्यसलाई ग्रहण गर्नुप¥यो । नेपाली काँग्रेसको यो अधिवेशनले नेपाली काँग्रेस सबै प्रजातन्त्रवादीहरुको, सबै देशभक्तहरुको, सबै चिन्तनहरुको, सबै अनुभवहरुको, सबै युवा शक्तिको त्यो ऊर्जाका शक्ति युवाहरुको, जो सडकमा ओर्लिन तयार छ, त्याग गर्न, समर्पित हुन, बलिदान दिन तयार छ ती युवाहरुको सोच, ती दैनिक जीवनका अवगुणहरुले छोइसकेका छैनन् । सबैलाई लिएर छाहारी बनाउन सकोस्, त्यो नेपाली काँग्रेसको चुनाव चिन्ह जुन रुख छ त्यो जनतालाई मतदानको निम्तिमा दिने परिचय हो अथवा सम्पूर्ण प्रजातन्त्रवादी प्रतिभाहरुलाई दिने छाहारी हो ?

त्यो निर्णय नेपाली काँग्रेसको अधिवेशनले गर्नुप¥यो । यदि यो अधिवेशनले चुनाव चिन्हको रुपमा परिभाषित ग¥यो भने, अगाडी बढायो भने नेपाली काँग्रेस असफल भयो, यदि नेपाली काँग्रेसले त्यो रुखलाई सबै अनुभवीहरुको, योग्य मानिसहरुको, सबै ऊर्जावान मानिसहरुको, सबै चिन्तनहरुको, सबै प्रजातान्त्रिक शक्तिहरुको, सबै देशभक्तहरुको छाहारी बनाउन सक्यौं भने आमजनताले मेरो प्रजातन्त्र सुरक्षित छ । यो छाहारीमा भन्ने, मेरो देश सुरक्षित छ यो छाहारीमा भन्ने सोच्न लगाउन सकियो भने नेपाली काँग्रेसको अधिवेशन पनि सफल हुन्छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलन पनि सफल हुन्छ । हरेक विभिन्न किसिमको प्रयोगहरुबाट थाकेको नेपाल क्रान्ति र प्रतिक्रान्ति आन्दोलन र उथलपुथलहरुबाट थाकेको नेपाल अब एउटा बाटो समात्न सक्छ, एउटा दिशाबोध गरेर अगाडी बढ्न सक्छ । हामीलाई प्रकृतिले सम्पूर्ण कुराहरु दिएको छ, हामीलाई भूराजनीतिक स्वामित्वले एउटा अपूर्व अवसर दिएको छ । जुन किसिमको विश्वशक्ति सन्तुलनको निर्माण गरिरहेको छ, यसमा नेपालको हैसियत विशिष्ट खालको बन्दै गएको छ, त्यसलाई हामीले परिपक्व ढंगले संयमितरुपमा, विवेकशीलरुपमा, सामरिक चिन्तनको आधारमा यदि हामीले उपयोग गर्न सक्यौं भने नेपाल दक्षिण एसियाको शक्ति केन्द्रमा स्थापित हुनेछ । यदि नेपालको प्रजातन्त्रले त्यो दिन सक्यो भने, विश्वेश्वरप्रसाद कोइरालालाई हामीले स्मरण गरेको, बीपी कोइरालाको नेतृत्वलाई भँजाएर राजनीति गरेको नेपाली काँग्रेसले पनि जस पाउनेछ, उचित ठहरिनेछ ।

प्रस्तुती
सपना थामी /ध्रुव अधिकारी