ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“रोगभन्दा पनि भोकले मर्ने अवस्था आएपछि भारत जानुको विकल्प रहेन”


एबीसी न्यूज

महेन्द्रनगर, २९ भदौ । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि नेपाल–भारत सीमा नाका बन्द र लकडाउन लगाउँदा भारतबाट स्वदेश फर्किनेहरुको चाप रहेको कञ्चनपुरको गड्डाचौकी र डोकेबजारस्थित गौरीफन्टा नाकामा यतिबेला मजदूरीका लागि भारत जानेहरुको चाप बढ्दै गएको छ । भारतमा दैनिक ८० हजारभन्दा बढी सङ्क्रमित थपिनुका साथै दिनहुँ हजारौँको सङ्ख्यामा कोरोना सङ्क्रमणबाट मृत्यु भइरहेको खबर आइरहेका बेला स्वदेशमा रोजगारी नभएपछि बाध्य भएर यहाँका युवा मजदूरीका लागि भारत जानुपरेको बताउँछन् ।

सुदूरपश्चिम प्रदेशको रोजगारीको प्रमुख गन्तव्य रहेको भारतबाट लकडाउन अवधिमा झण्डै डेढ लाख मानिस स्वदेश फर्किएको तथ्याङ्क छ । स्वदेशमा स्वरोजगारका लागि कुनै योजना नहुनुका साथै आफूहरुको परिवारमा रोगभन्दा पनि भोकले मर्ने अवस्था आएपछि भारत जानुको विकल्प नरहेको मुग्लान जानेहरुको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये नौ हजारलाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अगाडि बढाएको भएपनि रोजगारीका लागि पुनः भारत जाने क्रम बढ्दैछ । सरकारले प्रदेशका नौ वटा जिल्लाका ८८ वटै स्थानीय तह र कृषि ज्ञान केन्द्रमा रोजगारीका लागि आवेदन दिन आह्वान समेत गरेको छ ।

सरकारले कृषि तथा पशुपन्छी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई आवेदन दिन आगामी असोज ६ गतेसम्मको समय तोकेको कृषि ज्ञान केन्द्र महेन्द्रनगरले जनाएको छ । “यहाँ आवेदन दिनेको भीड नै लागेको छ ।” कृषि ज्ञान केन्द्र
महेन्द्रनगरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले भन्नुभयो–“अहिलेसम्म तीन सयभन्दा बढीले आवेदन दिइसकेका छन् ।” उहाँले आवदेन दिएका सबैलाई सरकारले सम्बोधन गर्न भने सम्भव नरहेको बताउनुभयो ।

प्रदेश सरकारले नौ हजार जनालाई स्वरोजगार तथा रोजगारी दिने योजना बनाएको छ । हालै जारी सूचना अनुसार तरकारी खेती, च्याउ खेती, मौरीपालन, भेडा बाख्रापालन, बङ्गुरपालन, फलफूल खेती, गाईभैंसीपालन, माछापालन, स्थानीय कुखुरा र हाँस तथा अन्य मासुजन्य पन्छीपालन, नर्सरी तथा पुष्प व्यवसाय र अन्य गरी १० वटा कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई कार्यक्रम दिने भनेको छ ।

लामो समय लकडाउन हुँदा भोक टार्न समेत समस्या हुन थालेपछि बाध्य भएर भारत जान लागेको भीमदत्त नगरपालिका–१३ का सन्त सुनारले बताउनुभयो । “सरकारले घरमै बसेर सुरक्षित रहनुस् भन्छ तर हामीसित अहिले नै छाक टार्न चामल छैन ।” लालाबालासहित गड्डाचौकीबाट भारत जान लागेका सुनारले भन्नुभयो, “सरकारले दिने भनेको रोजगारी पाउने बेलासम्म नै के खाने भन्ने समस्या छ । यतिबेला भारत बस्नुपर्ने हाम्रो बाध्यता हो ।” उहाँले स्वरोजगारको व्यवस्था नभएकाले धेरै स्थानीयहरु विदेशिन बाध्य रहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गौरीफन्टा र गड्डौकी नाकाबाट गरी दैनिक पाँचदेखि छ सय नेपाली भारततर्फ रोजगारीका लागि जान थालेको जनाएको छ । “आधार कार्ड र रासन कार्ड भएका र भारतीय कम्पनीले पनि प्रक्रिया पु¥याएर नेपालीहरुलाई भारत लगिरहेको छ” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भन्नुभयो ।

त्यसैगरी गड्डाचौकी नाकाबाट भारत भइरहेका कृष्णपुर नगरपालिका–२ का बेलुराम चौधरीले लकडाउनमा परिवार पाल्न धौ–धौ भएकाले भारत जान लागेको बताउनुभयो । “लकडाउनकै बेला कोरोनाको त्रासले घर फर्किएँ, अब पनि यहाँ बसेर गुजारा चल्ने नदेखेपछि उतैतिर लागियो” उहाँले भन्नुभयो–“अहिले परिवारको लालनपालनका लागि भारत जानुको अर्को विकल्प रहेन ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com