ललितपुरका ११ वटा मतदान स्थललाई प्रहरीले अति संवेदनशील सूचीमा राखेको छ। ललितपुरका दक्षिणी भेगमा पर्ने दुर्गम गाउँमा पर्ने मतदानस्थललाई अति संवेदनशील सूचिमा राखिएको छ। धेरै मतदाता भएका र दुर्गममा रहेका मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता नरेन्द्र चन्दले जानकारी दिएका छन्।
अति संवेदनशील मतदान स्थलमा केहीमा इन्सपेक्टर तथा केहीमा सईको कमाण्डमा प्रहरी परिचालन गरिएको छ। झडप हुने सम्भावना रहेका स्थानलाई पनि अति संवेदनशील सूचीमा राखिएको छ। सुरक्षाको दृष्टिले ललितपुरका ५७ मतदान स्थललाई संवेदनशील र बाँकी ६३ स्थललाई सामान्य सूचीमा राखिएको छ।
काठमाडौं र भक्तपुरका एउटा पनि मतदानस्थल अति संवेदनशील सूचीमा छैनन्। काठमाडौंका तीन सय २० मतदान स्थलममध्ये एक सय ७१ सामान्य र बाँकी एक सय ४९ संवेदनशील छन्।
काठमाडौंमा दुई हजार तीन सय ३३ प्रहरी र दुई हजार सात सय ७६ म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिएका छन्। त्यस्तै, भक्तपुरमा ७८ मतदान स्थलमध्ये ३४ लाई संवेदनशील र बाँकीलाई सामान्यमा राखिएको छ।
बिहीबार हुने निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न अघिल्लो दिनदेखि नै सुरक्षा जाँच बढाएको महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले बताए। सबै मतदान स्थलमा मंगलबारदेखि कमाण्डरहरुलाई खटाइसकिएको छ। मतदान स्थलको सुरक्षामा विशेष ध्यान दिन प्रहरीलाई महानगरीय प्रहरी कार्यालयले निर्देशन दिएको चन्दले बताए ।
प्रतिक्रिया दिनुहोस्