काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ। शनिबार प्रधानमन्त्री ओली र मोदीबीच फोन वार्ता भएको हो।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको जानकारी दिनुभयो । उहाले फोन वार्ताका बारेमा परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्ने तयारी गरिरहेको सल्लाहकार थापाले बताउनुभयो । यसअघि आजै प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सामाजिक सञ्जाल ट्विटरमार्फत समकक्षी मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो।
संवादका क्रममा कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सहमति भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ । यस्तै लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिइएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । लिपुलेक विवादपछि प्रधानमन्त्री तहमा पहिलोपटक वार्ता भएको हो।
प्रतिक्रिया दिनुहोस्