काठमाडौं, २२ साउन,। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको हो । स्रोतका अनुसार पहिलो घेरामा रहेका सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छैन । तर गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।
सचिवालयका एक सदस्यले भने, ब्यारेकमा बसेर अध्यक्षको सुरक्षामा खटिने ६ जना नेपाल प्रहरीमा कोरोना पुष्टि भयो । त्यसले अध्यक्ष प्रचण्डसहित सबैजनाको कोरोना टेष्ट गरिएको थियो ।
प्रचण्डसहित सचिवालय र सुरक्षामा खटिएका अन्य सुरक्षाकर्मीको पनि कोरोना भाइरसको परीक्षणका लागि स्वाब परीक्षण गरिएको थियो । प्रचण्डसहित सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ ।
६ जनाको रिपोर्ट पोजेटिभ आएपछि नेकपा अध्यक्ष प्रचण्डले आवश्यक स्वास्थ्य सुरक्षामा ध्यान दिन सचिवालय र आफ्नो सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीलाई आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्