धनकुटा, १६ मंसिर –नेकपा एमालेका सचिव योगेस भट्टराईले कांग्रेसले लोकतान्त्रिक गठबन्धनको नाममा अहिले मरेको पशुको सिनो बोकेको आरोप लगाएका छन् ।
एमाले पाख्रीबास नगर कमिटीले आयोजना गरेको चुनावी सभामा बोल्दै एमाले सचिव भट्टराईले यस्तो बताएका हुन । उनले सभालाई सम्बोधन गर्दै भने, ‘पञ्चायतको अवशेषको रुपमा रहेको राप्रपा प्रजातान्त्रिक जस्ता गन्हाएको सिनो बोकेर कांग्रेस आफै नाकमुख थुन्दै हिँडिरहेको छ । वीपीलाई जेल र भीमनारायणलाई मृत्युदण्ड दिनेका सन्तानलाई बोकेर हिँड्नु इतिहास बिसर्नु हो ।’ भट्टराईले कांग्रेसले अब पराजय स्वीकार गरेर बस्नुको विकल्प नरहेको बताए ।
यो चुनावपछि ५ वर्षसम्म वामपन्थी सरकार चल्ने र त्यो सरकारले गरेको कामको आधारमा ५० वर्षसम्म हुने सवै चुनावमा वामपन्थीहरुले कब्जा गर्ने दाबी सचिव भट्टराईले गरे । वाम सरकार बने अधिनायकवाद आउने र जनता रुनु पर्ने आरोप लगाइरहेका विपक्षीप्रति कटक्ष गर्दै सचिव भट्टराईले भने, ‘रोइरहेका जनता हाँसेपछि किन रुनु ।’
एमाले सचिव भट्टराईले पहाडी जिल्लाको समृद्धिको लागि मध्यपहाडी लोकमार्ग र तमोर करिडोरको बाटो ५ वर्षभित्र कालोपत्रे गर्ने ठोकुवासमेत गरे ।
कार्यक्रममा वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार राजेन्द्र राई, प्रदेशसभा उम्मेदवार ईन्द्रमणी पराजुली, कांग्रेस परित्याग गरेका क्षेत्रीय कमिटी सचिव मिलन बराललगायतले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्