चितवन, १५ मंसिर – नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले उनले पार्टी एक हुँदा राष्ट्रलाई फाइदा हुने र देश समृद्धितर्फ अगाडि बढ्ने बताउदै वाम गठबन्धनलाई धेरै गाली नगर्न सुझाव दिएका छन् ।
शुक्रबार चितवनमा भएको एक कार्यक्रममा बोल्दै उनले बिपी कोइराला र गिरिजाप्रसाद कोइराला अहिले भएको भए कम्युनिष्ट एकता देखेर खुशी हुने बताएका छन् ।
राष्ट्र, राष्ट्रियता र स्वाधिनताको मुद्दामा भोलि पनि काँग्रेससँग सहकार्य हुनसक्ने भन्दै प्रचण्डले भने, ‘यति धेरै गाली नगर्नुहोस्, भोलि पनि मिल्नुपर्छ, त्यसबेला हात मिलाउन पनि लाज लाग्ने नहोस् ।’भोलि देशमा अलकायदावादी, विखण्डनवादी धार आयोभने कांग्रेससँग मिलेर लड्नुपर्ने बताउँदै उनले भने, ‘कांग्रेस पनि देश टुक्रियोस् भन्ने चाहनुहुन्न, त्यतिबेला राष्ट्रको एकता र स्वाधीनताका लागि लड्नुपर्छ ।’
विभाजित कांग्रेस पनि एक हुँदा राम्रो हुने बताउँदै प्रचण्डले भने, ‘विभाजित कांग्रेस पनि सबै एकै ठाउँमा आउन जरुरी छ ।’
अहिलेको काग्रेस बिपीको समाजवाद र गिरिजाप्रसादको गणतन्त्रको लाइनबाट थोरै विक्षिप्त भएको प्रचण्डको भनाइ थियो । उनले भने, ‘बिपीको समाजवाद र गिरिजाको गणतन्त्रको लाइनबाट कांग्रेस विचलित भएकाले उहाँहरुले गल्ती गर्नुभयो भन्ने मेरो आरोप छ ।’
चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका प्रचण्डले राजनीतिक अनैतिकताको एउटा प्रवृत्तिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्