
काठमाडौं, १८ चैत । कोरोना भाइरस कोभिड–१९ं को सम्भावित जोखम रोकथाम र नियन्त्रण गर्न नेकपाका नेता तथा प्रदेश २ का प्रदेशसभा सदस्य दिलीप साहले एक करोड रकम प्रदान गर्ने जानकारी दिनुभएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ सरकारद्वारा स्थापित राहत कोषमा उहाँले निर्वाचन क्षेत्र विकास कोषबाट प्राप्त हुने सो रकम प्रदान गर्ने बताउनुभयोे ।
यस्तै सिरहाको लहानका व्यापारीका केशव महतोले आफ्नो घरमा भाडा लिएर बसेका १० परिवारसँग चैत महिनाभरिको घर भाडा नलिने जानकारी दिनुभएको छ । लहान नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनलाई लहान नगरपालिका–४ स्थित विवेक इन्जिनीयरिङले दुईवटा फलामे जस्ताको श्यया उपलब्ध गराएको छ । सो नगरपालिका–११ पड्रिया विद्यालयमा नगरपालिकाले स्थापना गरेको १५ श्ययाको क्वारेन्टाइनका लागि सञ्चालक अभिषेक कर्णले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसाल र लहान नगरपालिका स्वास्थ्य शाखाप्रमुख रामसुन्दर यादवलाई उक्त श्यया प्रदान गर्नुभयो ।
यसैबीच लहान नगरपालिका–५ नयाँ बजारस्थित गुद्री हटियामा आज बिहान आगलागी हँुदा करीब रु २५ लाखभन्दा बढीको क्षति भएको छ । अचानक आगलागी स्थानीय लखन सहनीको चामल र किराना पसल गरी दुई पसल, रामचन्द्र गुप्ताको मसला तथा किराना पसल गरी दुईवटा पसल, मनोज गुप्ताको एउटा किराना पसल र लालबाबु दासको हार्डवेयर पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । लहान नगरपालिकाको बारुणयन्त्र, प्रहरीको टोली र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको लहान नगरपालिका–५ का वडाध्यक्ष सुलेमान मियाँ अन्सारीले जानकारी दिनुभयो । आगलागीको कारण खुल्न सकेको छैन ।








प्रतिक्रिया दिनुहोस्