नेपाल ट्रष्टले सम्पत्ति व्यवस्थापन सम्बन्धी तथ्य विवरण सार्वजनिक गरेको छ । बुधबार ट्रष्टका अध्यक्ष तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले ट्रष्टको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । भएको सम्पत्तिको सम्पति अभिवृद्धि गर्न लागेको र ट्रष्टको लालपुर्जा भएको जग्गा कसैले उपभोग गरिरहेको छ भने फिर्ता गर्ने उहाँको भनाई छ । ट्रष्टको लगानी शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा लगाइने उहाँले बताउनुभयो ।
एकपछि अर्को गर्दै नेपाल ट्रष्टको नाममा रहेको जग्गा विभिन्न व्यापारिक समुह तथा घरानालाई भाडा वा लिजमा दिन थालेपछि सरकारमाथि प्रश्न उठ्दै आइरहेको छ ।
खासगरी २०५८ जेठ १९ गते राजदरबार हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्रको वंश नाश भएपछिको उहाँको तथा उहाँको परिवारको नाममा रहेको सम्पति संरक्षण गर्न नेपाल ट्रष्ट ऐन, २०६४ र नेपाल ट्रष्ट नियमावली, २०६५ मार्फत ट्रष्ट सञ्चालन हुँदै आएको छ ।
पूर्वमा धनकुटादेखि पश्चिममा सुर्खेतसम्म १२ जिल्लामा ट्रष्टको अचल सम्पत्ति रहेको छ ।
तर सरकारले काठमाडौँको मुटुमा रहेको विभिन्न जग्गा जमिनहरु विभिन्न कम्पनी, व्यापारिक समुह तथा व्यापारिक घरानालाई भाडा वा लिजमा दिएपछि आलोचित हुँदै आएको छ भने त्यसको प्रतिफल जनताले बुझ्नेगरी ट्रष्टले देखाउन सकेको छैन । जमीन लिजमा दिनुको फल के प्राप्त भइरहेको छ भन्ने पनि ट्रष्टले देखाउन नसक्दा उसको औचित्यमाथि नै प्रश्न उठ्न थालेको हो । पछिल्लो समय गोकर्ण स्थित जंगल रहेको तारे होटलको लिज अवधी थप्ने लगायतको निर्णयमा सरकार विवादित बन्दै गइरहेको छ ।
प्रमुख प्रतिपक्षी लगायतका दलहरुले संसदमा बोल्दै सरकारको नियतमाथि नै शंका गरेका छन् । यस सन्दर्भमा सरकारले भने आफ्नो बचाउ गर्दै आएको छ । तर गोकर्ण रिर्सोट लिजको म्याद थप विधिविधान अनुरुप नियमसंगत ढंगले गरेको सरकारको भनाई छ । चौतर्फी आंशका बढ्न थालेपछि मंगलबार नेपाल ट्रष्टले सम्पत्ति व्यवस्थापन सम्बन्धी तथ्य विवरण सार्वजनिक गरेको छ । नेपाल ट्रष्ट सञ्चालक समितिका अध्यक्ष तथा सरकारका उप–प्रधानमन्त्री ईश्वर पोखरेलले ट्रष्टको सम्पति विवरण सार्वजनिक गर्नुभएको हो । तथ्य विवरण सार्वजनिक गर्दै अध्यक्ष पोखरेलले ट्रष्ट मातहतको सम्पत्ति सरकारले अहिले मात्रै भाडामा दिएको नभई पहिलेदेखि नै भाडामा दिईदै आएको बताउनुभयो । उहाँले ट्रष्टको सम्पत्ति अभिवृद्धिको लागि विभिन्न ठाउँका जग्गा भाडामा लगाइएको जानकारी गराउनुभयो ।
नेपाल ट्रष्टको मातहतमा आउनुपर्ने कयौँ जग्गाजमिन र सम्पत्ति अझै पनि ट्रष्ट बाहिरै रहेको भनेर बेला बेलामा आवाज उठ्ने गरेको छ । ट्रष्ट मातहतको सम्पत्ति खोजी भइरहेको पनि ट्रष्ट बताउँछ । हालसम्म देशभरका १२ जिल्लामा २१ हजार ५ सय ६२ रोपनी ४ आना २ पैसा १ दाम जग्गा नेपाल ट्रष्टको नाममा रहेको ट्रष्टले बताएको छ । चल सम्पत्तितर्फ भने ७८ करोड ९ लाख ७७ हजार ७ सय ९३ रुपैँया ३ पैसा, १ लाख ४८ हजार ५ सय ८१ अमेरिकी डलर, ५० हजार १ सय २४ ब्रिटिस पाउन्ड स्टर्लिङ रहेको छ । त्यसैगरी नबिल बैंकको शेयर ५ लाख ३३ हजार २ सय ४४ कित्ता, होटल डेल अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक निगमको ६ हजार ७५० कित्ता शेयर नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ । ट्रष्टको नाममा ल्याउनुपर्ने मातातीर्थ लगायतका जग्गा ल्याउने प्रयास भइरहेको ट्रष्टका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
ट्रष्टको सम्पतिको सहि सदुपयोग नभएको आम गुनासो हिजो पनि थियो, आज पनि छ । आज झन बढेर गइरहेको छ । सरकारले यसतर्फ ध्यान पु¥याउन सकेको छैन । तर आगामी दिनमा शिक्षा, स्वास्थ्य, पर्यटनको क्षेत्रमा ट्रष्टको सम्पत्ति लगानी गर्ने योजना रहेको अध्यक्ष पोखरेलको भनाइ छ ।
नेपाल ट्रष्टको सम्पूर्ण सम्पति कति हो अझै खोजिनिति आवश्यक छ । सहि सदुपयोग पनि आवश्यक छ । ट्रष्टको सम्पत्ति कुनै राजनीतिक दलका नेता तथा व्यापारिक घरानाको स्वार्थमा जसलाई पायो त्यसलाई भाडा वा लिजमा दिने पनि होइन । आवश्यकता र औचित्य हेरिनुपर्छ । भाडा वा लिजमा लगाउनुको प्रतिफल जनताले के पाएका छन् भन्ने खोजिनिति पनि आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्