नेपालगञ्ज , १७ माघ । भारतसँग सिमा जोडिएका तराईका जिल्लामा छाडा पशु चौपाया टाउको दुखाईको बिषय बनेको छ । केही स्थानीय तहले छाडा पशु चौपाया व्यवस्थापन गर्ने भन्दै कान्जी हाउस सञ्चालनमा ल्याएका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले पनि कान्जी हाउस सञ्चालनमा ल्याएको छ । तर यहाँ राखिएका पशुचौपाया उचित खाना र बस्ने व्यवस्था नहुँदा मर्दै गएका छन् ।
नगरमा छाडा रुपमा छोडिएका पशु चौपायाहरु उपमहानगरपालिकाले कान्जी हाउसमा लगेर राख्ने गरेको छ । त्यहाँ राखेका पशु चौपायाहरुको लागि उपमहानगरपालिकाले केही कर्मचारी खटाए पनि त्यो प्रभावकारी बन्न सकेको छैन । उचित खानपिन र बस्नेको व्यवस्था हुन नसक्दा कान्जी हाउसमा राखिएका पशु चौपायाहरु अत्यधिक गर्मी र चिसोका बेला मर्ने गरेका छन् । कान्जी हाउसमा रहेका पशुचौपायाहरुले पोषकतत्व भएका दानापानी खान पाउँदैनन् ।
पोषकतत्व नपुगेपछि कान्जी हाउसका अधिकांश पशु चौपायाहरु दुब्लाएको पशु चिकित्सक बताउँछन् ।
कान्जी हाउसका पशु चौपायाहरुले पोषकतत्व भएका खानेकुरा नपाउँदा विभिन्न रोगहरुले भेटाएको पाइएको भेटेरिनरी अस्पताल तथा विज्ञ सेवा केन्द्र, बाँकेका पशु विकास अधिकृत गणेश पुनले बताए । पशु चौपायालाई आवश्यक पोषकतत्व नभएको घाँस र दानापानी खुवाएका कारण बेला बेला पशुचौपाया बिरामी परेका छन् ।
कान्जी हाउसमा राखिएका छाडा पशु चौपायाहरु मरेको खबर सार्वजनिक भएपछि उपमहानगरपालिकाको आलोचना हुने गरेको छ । पशु चौपायालाई ओत लाग्नको लागि सानो टिनको छाप्रो बनाइएको भए पनि त्यहाँ बस्दा जाडोमा अत्यधिक चिसो र गर्मीमा अत्यधिक गर्मी हुने गर्दछ । अत्याधिक चिसोका कारण यसवर्ष कान्जी हाउसमा रहेका एक दर्जन बढी पशुचौपायाहरु मरिसकेका छन् । पर्याप्त पोषिलो खाना नपाएर गाइगोरु मर्ने क्रम जारी रहे पनि कान्जी हाउसका इन्चार्ज पवन कनोजियाले पोषिलोयुक्त खाना पर्याप्त दिएको बताउँछन् ।
अहिले कान्जी हाउसमा अव ३८ वटा गाइगोरु र एक वटा खच्चड रहेका छन् । उपमहानगरपालिकाले वडा नम्बर २१ मा नगरका छाडा पशुचौपायाहरु व्यवस्थापन गर्नको लागि कान्जी हाउस सञ्चालनमा ल्याएको हो । तर कान्जी हाउसको उचित व्यवस्थापन भने नसक्दा पशुचौपायाहरु धमाधम मर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्