काठमाडौं, २६ मंसिर । नेपालका विमान कम्पनीहरुलाई यो वर्ष पनि युरोपेली युनियन (ईयू) ले आफ्नो कालोसूचीमा कायमै राखेको छ । युरोपका २८ वटा देशका आकाशमा उड्नको लागि नेपालका विमानलाई प्रतिवन्ध लगाउने गरी ईयूले नेपाली विमानलाई कालोसूचीमा कायमै राखेको हो । नेपाल सन् २०१३ देखि ईयूको कालोसूचीमा छ ।
यसले गर्दा नेपालभित्र दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनी अझै कम्तीमा ६ महिना युरोपको आकाशमा उड्न नपाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल चाँडै सुचीबाट निस्किने दावी गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको गम्भीर सुरक्षा चासोको सूचीबाट हटिसकेका कारण यस पटक नेपाल ईयूको सुरक्षा सूचीबाट पनि हट्ने अपेक्षा सरकारको थियो । तर, ईयूले यस पटक पनि नेपाललाई निराश बनाएको छ । इयूले हरेक ६/६ महिनामा यस्तो सूची अपडेट गर्छ ।
ईले १५ देशका ११५ वायुसेवालाई प्रतिवन्धको सूचीमा राखेको छ । सूचीमा नेपालबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयर, यति एयर, श्री एयरलाइन्ससहित सबै वायुसेवा कम्पनीलाई प्रतिबन्धको सूचीमा राखिएको छ । नेपालबाहेक अफगानिस्तान, अंगोला, कंगो, लिबिया, सुडान, नाइजेरियालगायत मुलुकका वायुसेवा यस सूचिमा छन् । सूचिमा अधिकांश द्वन्द्वग्रस्त मुलुकका वायुसेवा समावेश छन् । तर, नेपाल भने शान्तिपूर्ण वातावरणमा पनि कालोसूचिबाट उम्कन असफल भएको छ । नेपालमा हवाई सेवा प्रदायक र नियमकको काम एउटै निकायबाट भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलहरु सञ्चालन गर्छ भने उक्त कामको आफैले नियमन गर्छ । ईयूले सोही प्रावधानमा टेकेर पुनः प्रतिबन्धमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्