
काठमाडौं, १४ मंसिर । करिब रातको १० बजेको समय । काठमाडौँको सडक चकमन्न बन्दै गए पनि शुक्रबारको रात अघिपछिभन्दा सवारीको चाप बढी नै थियो । साना सवारी र मोटरसाइकल कालीमाटी हुँदै कलङ्की, बल्खु र त्रिपुरेश्वर हुइकिँदै थिए ।
काठमाडौँमा जाडो शुरु भइसकेको छ । बिहान–बेलुका न्याना कपडा नलगाई हिँड्न गाह्रै हुन्छ । त्यो पनि रातको १० बजे चिसो सिरेटो नचल्ने कुरै भएन । कालीमाटीबाट बल्खु जाने सडको दायाँबायाँका सटरहरू बन्द थिए । सटरमुनिको सडकपेटीमा सामान हालेर राखिएझैँ बोराको लस्कर प्रहरीको ज्याकेट टल्किए जसरी टाढैसम्म टल्कियो । बोरासँग दर्जनौँ कुकुर गुडुल्किएर सुतिरहेका थिए । नजीक पुग्दा बोराका बीचबीचमा केही मान्छे मजेत्रो ओढेर सुतिरहेका देख्यौँ ।
बत्तीको उज्यालो र मानिसको चहलपहल बढेपछि बोराबाट मुन्टो निस्कियो । तब थाहा भयो, बोरामा त मान्छे रहेछन् । फेरि त्यही बोराबाट अर्को पनि मुन्टो निस्कियो । तातो हुने भएर होला एउटै बोरामा दुईजना पसेका । चिसो सडकपेटीमा सामान्य थोत्रा कपडा लगाएका उनीहरूको आश्रयस्थल, ओढ्ने ओच्छ्याउने सबै त्यही बोरा रहेछ । अघि देखिएका सबै बोरामा यसैगरी मानिसभित्र पसेर सुतिरहेको रहस्य केही क्षणमै खुल्यो । कोही कार्टुन त कोही पातलो मजेत्रोको सहारा लिएर जाडो छल्दै निद्रा पर्खंदै थिए । कोही एक्लै बरबराउँदै थिए । सडकपेटीको चिसो भुल्न धेरै मदिरामा लट्ठ थिए ।
उनीहरूकै भनाइमा दिनभर कुनै न कुनै काम गर्ने रात परेपछि मदिरा खाएर सडकमा सुत्ने वर्षांैदेखिको दैनिकी हो । गन्ती गर्दा यसरी लस्करै सुतेका ४३ जना भेटिए । उदयपुरका किरण र हिमाल मगर एउटै बोराभित्र हुनुहुन्थ्यो । नजीकै सिसा पसलमा काम गर्ने हिमालले यसरी सुत्नुको कारण खोल्दै भन्नुभयो, “कसैले बस्ने कोठा दिँदैन, कोठा पाउन बूढी चाहिन्छ रे, सिसावालाले पनि बस्न दिँदैन, यहाँ नआए कहाँ जाने त रु” यति भनेपछि उहाँले मुन्टो बोराभित्र छिराउनुभयो ।

आफ्नो कुरा सकेर किरणले पनि मुन्टो बोराभित्र छिराउनुभयो । जब यहाँका सटर लाग्छन् तब मजदुर, मगन्तेको चहलपहल बढ्ने गरेको डिउटीमा रहेका ट्राफिक एक प्रहरीले जानकारी दिनुभयो । काठमाडौँको सोह्रखुट्टेमा पनि यस्तै दृश्य थियो । इलाम पशुपतिनगरका राजु तामाङ चोकको सडकपेटीमा एक महिलासँग लुट्पुटिएर सुत्नुभएको थियो । हालसालै विदेशीले दिएको सुकिलो त्रिपालको ओत लागेर प्रतीक्षालयको कुनामा च्यातिएको मैलो मजेत्रो ओढेर सुत्नुभएका उहाँको निद्रा हामी पुग्ने वित्तिकै भङ्ग भयो । श्रीमती भनिएकी महिला भने गुट्मुटिएर भित्रै लुक्नुभयो ।
उहाँको काम कवाडी र कार्टुन टिप्ने तथा बेच्ने हो । सुतेकी महिला आफ्नै श्रीमती बताउने तामाङले यो आसपासमा १५/२० जना यसरी नै सुत्ने गरेका बताउनुभयो । “आज हामी जानकारी गराउन आएको, अब भोलिदेखि यसरी सडकमा सुत्न हुँदैन, भोलिदेखि नबस्नुस् हैन”, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको भनाइमा उहाँले मुन्टो हल्लाउँदै सहमति जनाउनुभयो ।
यस्तै दृृश्य शुक्रबार राति शोभा भगवतीको मन्दिरमा समेत देखिन्थ्यो । मदिरामा मस्त भएका व्यक्ति मन्दिर परिसरमा पनि लस्करै थिए । अत्यधिक मदिरा खाएकाहरू सिँढीमा त्यसै लडिरहेका थिए । नयाँ बसपार्क गोङ्गबु क्षेत्रमा माग्दै हिँड्ने भारतीय नागरिक बसपार्क छेउमा सानासाना टेन्ट लगाएर बसेका छन् । शुरुशुरुमा नेपाली नै भएको बताउने उनीहरूले पछि भारतीय भएको स्वीकारे । भारत रुपौडियाका मणिराम पत्थरकटले भन्नुभयो, “हामी केहीले बाटा बेच्ने गरे पनि महिला र बच्चा सडकमा माग्छन्, उनीहरूलाई लैजानुस्, हामीलाई केही नगर्नुस्, हामी बाटा बेचेर कमाउँछौँ ।”
बसपार्कमा झण्डै ५० जनाले यसैगरी माग्ने पेशा अङ्गालेका छन् । महिला र बच्चाले खुट्टै समाएर माग्दा यात्रु तथा पर्यटकले दिक्क मान्ने गरेका छन् । यसअघि उनीहरू नजीकै रहेको शिवमन्दिर क्षेत्रमा थिए । त्यहाँबाट हटाएपछि बसपार्कलाई आश्रयस्थल बनाए । बिहान बसपार्कमा आएका यात्रुसँग खुट्टा समाएर झुण्डिने गरेका नेपाली होटल व्यवसायी सङ्घका अध्यक्ष दीपेन सुवेदीले बताउनुभयो । दुई हप्ताअघि उनीहरूलाई प्रहरीले भारत पठाएको भए पनि पुनः फर्केर आएका उहाँले जानकारी दिनुभयो ।
नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत धारा ३६ मा प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक छ । धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने र धारा ४३ मा आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिकलाई कानूनबमोजिम सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ । चालू आवको बजेट वक्तव्यमा ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने नारा तय गर्दै अशक्त, असहायलाई राज्यबाट संरक्षणको अनुभूति हुने गरी सडकमा रहनुपर्ने अवस्थाको अन्त्य गर्ने उल्लेख छ ।
मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ को दफा १२६ मा सडक, गल्ली, पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर र सार्वजनिक सवारी साधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने र भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । कानून व्यवहारमा कार्यान्वयन हुन नसकिरहेका बेला मानवसेवा आश्रमसँगको सहकार्यमा महानगरपालिकाले यहाँका मगन्तेलाई व्यवस्थापन गर्दै बेसहारालाई आश्रय दिएर पालनपोषण गरी परिवार पत्ता लगाएर पुनः मिलन गराउने अभियान थालेको छ ।
यही मङ्सिर २९ गते घोषणा गरी भोक मेट्नकै लागि सडकमा आउनु नपर्ने अवस्था सिर्जना गर्न लागिएको महानगरपालिकाका प्रमखु विद्यासुन्दर शाक्यले बताउनुभयो । त्यही घोषणाको पूर्वसन्ध्यामा आश्रम र महानगरले सडकमा असहाय, बेसहारा, मगन्ते, मदिरा खाएर बस्नेको अवस्थाको अध्ययन थालेको छ । केही दिनबाट उनीहरूको व्यवस्थापनको अभियानको थालनी हुने बताउँदै उक्त घोषणा अभियानको उपसमितिकी संयोजक गुजेश्वरी श्रेष्ठले कार्यक्रम सञ्चालनका लागि आन्तरिक तयारी करिब ९० प्रतिशत सकिएको बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्