काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार पाँचौ पटक डायलासिस गरिएको छ। एपेन्डिसाइटिसको शल्यक्रियाका लागि मंगलबार महराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्प्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्रीको उपचार प्रक्रिया जारी रहेका समयमा (हिजो) बुधबार साँझ करिब चार घण्टा लगाएर डायलासिस गरिएको थियो ।
१२ वर्ष अघि मृगौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओलीको उक्त मृगौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री ओलीले नियमित डायलासिस गराउदै आउनु भएको छ । उहाँको धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा कार्तिक १३ गते, १४ गते, ३० गते र मंसिर ८ गते डायलासिस गरिएको थियो। अस्पताल स्रोतका अनुसार बुधबार साँझ गरिएको उहाँको पुन डायलासिस गरिएको नियमित पक्रिया अन्तर्गत कै हो।
स्रोतले भन्यो, ‘एपेन्डिसाइटिस शल्यक्रियापछि मंगलबार उहाँ लामो समय अचेत रहनुभयो। बुधबार दिउँसोदेखि उहाँ कुराकानी गर्न सक्ने हुनुभएको थियो। साँझ उहाँको डायलासिस गरिएको हो।’ डायलासिसका लागि चिकित्सकहरुले आईसीयुमै सम्पूर्ण व्यवस्था गरेका थिए। अस्पतालले औपचारिक रुपमा उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताए पनि कहिले डिस्चार्ज गर्ने भन्नेबारे केही खुलाएको छैन।








प्रतिक्रिया दिनुहोस्