काठमाडौं, ११ मंसिर । यहि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि प्रचार प्रसार गर्ने आज अन्तिम दिन हो । आजै राति १२ बजेपछि मौन समय सुरु हुने भएकाले दलहरु आज अन्तिम प्रचारमा जुटेका छन् ।
यहि शनिवार देशभरिका विभिन्न तहका ५२ स्थानमा मतदान हुँदैछ । तीमध्ये कास्की–२ मा प्रतिनिधिसभाको चुनाव हुँदैछ भने भक्तपुर, बागलुङ र दाङसमेत तीन स्थानमा प्रदेशसभा सदस्यका लागि मतदान हुँदैछ । त्यस्तै धरान उपमहानगरपालिकाको मेयद पदको चुनाव पनि चासोका साथ हेरिएको छ ।
यी सबै स्थान कम्युनिष्टहरुले जितेको ठाउँ भएकाले सत्तापक्ष र प्रतिपक्षवीच यो उपचुनाव प्रतिष्ठाको लडाइँ बनेको छ । शनिबार तीन गाउँपालिका प्रमुख र एक गाउँपालिका उपप्रमुखको पनि चुनाव हुँदैछ । यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द गाउँपालिका र नेकपाले जितेको संखुवासभाको मकालु गाउँपालिकामा उपचुनाव हुँदैछ । त्यस्तै यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि शनिकार निर्वाचन हुँदैछ । यसअघि कांग्रेसले जितेको हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि शनिबार मतदान हुँदैछ ।
चार स्थानीय तहका प्रमुख र उपप्रमुखमध्ये नेकपाले जोगाउनुपर्ने एउटा गाउँपालिका छ भने कांग्रेसले दुईवटा गाउँपाकिला जोगाउनुपर्ने छ । त्यस्तै राजपाले एउटा गाउँपालिकामा आफ्नो सीट जोगाउनुपर्ने चुनौती छ । त्यसैगरी शनिबार ४३ जना वडाध्यक्षका लागि मतदान हुनेछ ।
तीमध्ये २१ गाउपालिकाका वडाहरु छन् भने २२ नगरपालिकाका वडाहरु छन् । कुल ४२ वडाहरुमध्ये २३ वटा वडामा यसअघि नेकपाले जितेको थियो । अब नेकपाले २३ वटा वडाहरु जोगाउनुपर्ने चुनौती छ । त्यस्तै नेकपाको सहयोगमा राष्ट्रिय जनमोर्चाले जितेको प्युठानको एउटा वडा पनि शनिबार दाउमा लाग्दैछ ।
४३ वटा वडाहरुमध्ये नेपाली कांग्रेसले यसअघि जितेका १२ वडाहरु सुरक्षित गर्नुपर्ने छ । त्यस्तै राजपा र समाजवादीले यसअघि जितेका ५ वटा वडाध्यक्ष पद जोगाउनुपर्ने चुनौती छ । यसपटकको उपचुनावमा नेपाली कांग्रेसले एमाले र माओवादी एकीकरण भएर बनेको संगठित नेकपाको सामना गर्नुपर्ने छ । अघिल्लो चुनावको गणितलाई हेर्दाखेरि नेकपा र कांग्रेसवीचको मतान्तर धेरै ठूलो भएकाले नेकपाले पहिले जितेका सीटहरु जोगाउँदै थप जित हात पार्ने अनुमान गरिँदै आएको छ ।
आज नेकपाको शीर्ष नेतृत्व पनि बाग्लुङ, पोखरा, धरानलगायतका स्थानमा चुनाव प्रचारमा व्यस्त छ । बुधबार बिहानै नेकपा अध्यक्ष प्रचण्ड अन्तिम चुनावी सभालाई सम्बोधन गर्न पोखरा पुगेका छन् । पोखराको कार्यक्रम सकेर आजै प्रचण्डले धरानको सभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्