काठमाडौं, १४ असोज । बलात्कार आरोपमा मुछिएका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्। महराले राजीनामा पत्रमा उनले केबाट राजीनामा दिएका हुन् भन्ने अस्पष्ट छ।
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई आइतबार राति उनकै डेरामा गई बलात्कार गरेको आरोप महरामाथि लागेको थियो।
उक्त घटनापछि मंगलबार बिहान बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले महरालाई सभामुख र सांसदबाट राजीनामा दिन भनेको थियो। महरा तत्कालीन नेकपा माओवादी केन्द्रबाट सभामुख चुनिएका थिए।
नेकपा सचिवालय निर्णयअनुसारपछि उपसभामुख शिवमाया तुम्बाहाम्फे महराको राजीनामा आउने ठानेर सिंहदरबारस्थित कार्यालयमा पुगेकी थिइन्। तुम्बाहाम्फे कार्यालयमा पुगेको निकैबेरसम्म पनि महरा राजीनामा दिन आएनन्। बरू उनले निवासबाट राजीनामापत्र जारी गरे। मिडियामा समाचार आइसकेपछि महराका स्वकीय सचिव सागर केसीले सिंहदरबार पुगेर उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा पत्र बुझाएका छन्।
राजीनामा पत्रमा उनले के पदबाट राजीनामा दिएको खुलाएका छैनन्। सभामुखको लेटर प्याड भएकाले सभामुखबाट राजीनामा दिएको स्वत बुझिन्छ। तर सांसदबाट भने उनले राजीनामा दिएका छैनन्। पत्रमा सांसदबाट राजीनामा दिएको कहिँकतै उल्लेख छैन।
प्रतिक्रिया दिनुहोस्