
लुम्बिनी, ३ जेठ ।
२५६३औं बुद्धपूर्णिमाकै दिनबाट गर्न थालिएको लुम्बिनी भ्रमण वर्ष २०७६को तयारी पुरा भएको छ । भ्रमण वर्ष सहित बुद्ध जयन्ती मनाउन रुपन्देहीको लुम्बिनी क्षेत्रलाई आजैबाट झकिझकाउ पारिएको छ।
रुन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको लुम्बिनीलाई दीप प्रज्ज्वलन, ध्वजा पटाका सहित झाँकीले सजाइएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा शनिबार बिहान ११ बजे बुद्धपूर्णिमा तथा लुम्बिनी भ्रमणवर्षको मूल समारोह कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल, प्रदेश ५ का उद्योग वाणिज्य, पर्यटन तथा वातावरण मन्त्री लिला गिरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको लुम्बिनी क्षेत्र बिकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार प्रधानमन्त्रीले शनिबार बिहान भिक्षुहरुलाई चिवर दान दिने छन् भने बुद्ध पूर्णिमाको अवसर पारेर शनिबार रुपन्देही, कपिलवस्तु र नवलपरासीका २३ वटा विद्यालयका १ सय जना विद्यार्थीहरुलाई मायादेवी छात्रवृत्तिस्वरुप ५–५ हजारका दरले छात्रवृत्ति वितरण गर्ने कार्यक्रम रहेको छ। यस्तै शनिबार नै प्रधानमन्त्री ओलीले लुम्बिनीमा २ हजार ६ सय ४३ वटा बिरुवा रोप्ने कार्यक्रमको सुरुवात गर्नेछन्।

प्रदेश ५ सरकारले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ । यसपटक प्रदेश ५ सरकार र लुम्बिनी विकास कोषले संयुक्त रूपमा बुद्ध पूर्णिमा मनाउने निर्णय गरेका छन्।
भ्रमण वर्षको पुर्वसंन्ध्यामा आज सांझ प्रधानमन्त्री केपी ओलीले मायादेबी मन्दीरमा दिप प्रज्वलन गरेका थिए भने आजै बाट लुम्बिनीमा सुजाता खिर महोत्सवको सुरुवात भएको छ ।

सांझ नै प्रधानमन्त्री ओलीले लुम्बिनी क्षेत्रको स्थलगत अवलोकन समेत गरेका थिए । प्रधानमन्त्रीसंगै प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल, नेकपा महासचिव बिष्णु पौडेल, प्रदेश सरकारका पर्यटन मन्त्री लिला गिरि लगायतको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्