बेइजिङ, १६ वैशाख । नेपाल र चीनबीच बहुप्रतिक्षित व्यापार तथा पारवहन सम्झौतामा हस्ताक्षर भएको छ ।

चीनको राजधानी बेइजिङमा आज नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनको तर्फबाट यातायात मन्त्री ली सिआओपिङले व्यापार तथा पारवहन सम्झौतामा हस्ताक्षर गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया समकक्षी सी जिङपिङबीच भएको शिष्टाचार भेटवार्ता पछि भएको दुवै मुलुकका प्रतिनिधिमण्डको छलफल पछि सम्झौतामा हस्ताक्षर भएको हो ।
यसैगरी दुई देशबीच आर्थिक र प्राविधिक सहयोग सम्बन्धी सहमति पत्रमा पनि हस्ताक्षर भएको छ । अर्थमन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरे र चाइना इन्टरनेसनल कोअपरेशन डेभलपमेन्ट एजेन्सीका सभापति वाङ सिआताओले यो सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । यसैगरी नेपालको उत्तरी क्षेत्रका बासिन्दाको जीवनस्तरमा सुधार ल्याउने सम्बन्धी सहमति भएको छ ।
यस्तै, दुई देशबीच चिनिया अनुदानमा नेपालमा सञ्चालित आयोजनासम्बन्धी प्रमाणपत्रमा पनि हस्ताक्षर भएको छ । जसमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र चीनको तर्फबाट बाणिज्यमन्त्री झेङ शानको हस्ताक्षर रहेको छ ।
यस्तै, भन्सार सुधारका लागि द्विपक्षीय सहयोग सम्बन्धी समझदारीपत्र एवं नेपालको गुणस्तर तथा नापतौल विभाग र चीनको गुणस्तर विभागको स्तरसम्बन्धी समझदारीमा पनि हस्ताक्षर भएको छ । यस्तै, सांस्कृतिक सम्पदाहरुको चोरी निकासी नियन्त्रण गर्ने सम्बन्धी दुई देशबीचको अर्काे समझदारी पत्रमा पनि हस्ताक्ष्ँर भएको छ ।







प्रतिक्रिया दिनुहोस्