
काठमाडौं,११ पुस । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कन्चनपुरकी निर्मला पन्त हत्या प्रकरणले सबैलाई गम्भीर बनाएको बताएका छन् ।
बुधबारबाट सुरु भएको संघीय संसदलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस घटनाले सरकार तथा प्रहरीको अनुसन्धान क्षमता र हैसियतमाथि नै कुनै न कुनै रुपले प्रश्न चिन्ह खडा गरेको पनि बताए ।
‘नागरिकलाई निरास, भयभीत बनाउने, लौ अब बर्बाद भयो, केही पत्ता लाग्दैन भनेर प्रचार गर्नु पनि ठिक होइन’ भन्दै अध्यक्ष प्रचण्डले नागरिकको मनोबल र भावना गिर्ने गरी कसैले पनि काम गर्न नहुने बताए ।
घटनाको अनुसन्धान गम्भीर रुपमा हुनु पर्यो भनेर आफूहरुले भन्दै आएको भन्दै उनले आफूले पटक पटक प्रधानमन्त्री र गृहमन्त्रालयसँग छलफल गरेको पनि बताए ।
घटनाको अनुसन्धानमा प्रहरीबाट कहीँ न कहीँ ल्याप्सेस भएको भन्ने ठानेर नै सरकारले गम्भीर भएर अनुसन्धानमा केन्द्रित गरेको पनि प्रचण्डले बताए ।
घटनाको अनुसन्धानलाई जतिसक्दो छिटो निष्कर्षमा पुर्याएर अपराधीलाई जसरी पनि कठघरामा ल्याएरै छाड्ने बताए । यस्तै केही घटनालाई लिएर नागरिकमा भ्रम छर्ने र निरास बनाउने काम नगर्न पनि उनले आग्रह गरे ।







प्रतिक्रिया दिनुहोस्