
काठमाडौं,९ पुस । सरकारले भारत सरकारले परिमार्जन गरेको ‘क्रस बोर्डर विद्युत व्यापार निर्देशिकाको स्वागत गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले सो निर्देशिका परिमार्जन गरेर भारत सरकारले नेपाल, भारत र बंगलादेशबीच विद्युत व्यापारका लागि बाटो खोलिदिएको उल्लेख गर्दै स्वागत गर्नु भएको हो ।
सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उहाँले नेपालमा उत्पादित विद्युत भारत, बंगलादेश हुँदै तेस्रो मुलुकमा व्यापार गर्न सो निर्देशिका उपयोगी रहेको पनि प्रतिक्रिया दिनु भयो ।
मन्त्री पुनले नेपाल, भारत र बंगलादेशबीच भएको छलफलको आधारमा भारतले सो निर्देशिका परिमार्जन गरेको पनि स्पष्ट पार्नु भयो ।
भारतले सन् २०१६ मा बनाएको निर्देशिकामा आफूले लगानी गरेको आयोजनाबाट मात्रै विद्युत खरिद गर्ने व्यवस्था गरेको थियो । तर हालै परिमार्जन गरिएको सो निर्देशिकामा भने सो प्रावधान हटाइएको छ ।
त्यसलाई पनि नेपालले ठूलो उपलब्धिको रुपमा लिएको मन्त्री पुनको भनाई छ । मन्त्री पुनले परिमार्जित सो निर्देशिकाले विद्युत व्यापारका लागि ट्रान्समिसन लाईन नेपाल–भारत-बंगलादेशबीच विस्तार गर्ने योजनालाई सम्बोधन गरेको उल्लेख गर्दै खुसी व्यक्त गर्नु भयो ।
नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय विद्युत प्रशारण लाईन विस्तार गर्ने विषयमा पनि छलफल भईरहेको छ । त्यसलाई पनि छिटो टुंगोमा पु¥याउने मन्त्री पुनको योजना छ । बंगलादेशले नेपालको विद्युत खरिदका लागि आवश्यक तयारीको कामलाई अघि बढाइसकेको बताइएको छ ।







प्रतिक्रिया दिनुहोस्