
काठमाडौं,९ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानलाई नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार राष्ट्रको रुपमा चित्रण गर्नु भएको छ ।
अध्यक्ष दाहालले जापानले विनासर्त निःश्वार्थभावले नेपाललाई ठूलो आर्थिक सहायता उपलब्ध गराउँदै आएको पनि स्मरण गराउनु भयो । सोमबार काठमाडौंमा आयोजित ‘नेपाल–जापान मैत्री सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विना दवाव, सर्तरहित सहायता उपलब्ध गराउने गरेकाले जापानलाई नेपाल राष्ट्र र नेपाली जनताले उच्च सम्मानका साथ हेर्ने गरेको पनि स्पष्ट पार्नु भयो ।
अध्यक्ष दाहालले शान्ति स्थापना तथा विपद् व्यवस्थापन जस्ता समस्याबाट जुधेर अघि बढेको जापानबाट नेपालले धेरै सिक्न सक्ने पनि उल्लेख गर्नु भयो ।
उहाँले गौतम बुद्धको जन्मस्थल नेपाल र बुद्ध धर्मप्रति आस्थावान जापानी जनताबीचको सम्बन्ध भावनात्मक रुपले पनि विशिष्ट ढंगको रहेको पनि बताउनु भयो । जापानले नेपालको पूर्वाधार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको आर्थिक सहायता अविस्मरणीय रहेको अध्यक्ष दाहालको भनाई छ ।
कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जापान नेपालको महत्वपूर्ण विकास साझेदार राष्ट्र रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारले गरेको सर्तरहित सहयोगको खुलेर प्रशंशा गर्नु भयो । उहाँले भूकम्पलगायतका विपद्का बेला जापानले गरेको सहयोगको पनि स्मरण गराउनु भयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले द्धिपक्षीय र बुहपक्षीय ढंगले जापानले नेपालको आर्थिक विकासमा पु¥याउँदै आएको सहयोगले निरन्तरता पाईरहने विश्वास पनि व्यक्त गर्नु भयो ।







प्रतिक्रिया दिनुहोस्