
काठमाडौं,१५ मङसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले लघु वित्त संस्थाहरुले उच्च व्याज लिने गरेको भन्दै राष्ट्रबैकको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।
राजधानी काठमाडौंमा शनिबार आयोजित दोश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले गरिबका नाममा खोलिएका संस्थाले गरिबमारा नीति लिन नमिल्ने बताउनुभएको हो ।
गरिबका लागि र गरिबको पक्षमा खोलिएका लघुवित्त संस्थाहरुले सुविधा सम्पन्न शहरी क्षेत्रमा पनि १८ प्रतिशत व्याज लिने गरेको भन्दै आपत्ती जनाउनुभयो ।
उहाँले राष्ट्रबैकबाट कार्यक्रममा उपस्थित अधिकारीप्रति इंकित गर्दै लघुवित्त संस्थाहरुले लिने उच्च व्याजदरप्रति गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
गरिबी निवारणमा सहयोगी भुमिका निर्वाह गर्न ,गरिब, पछाडि परेको समुदाय, महिला लगायतलाई उत्पादनशीलतामा संलग्न गराउनका लागि उपयोगी बन्नुपर्ने संस्था नै लगानीकर्तामुखी भएको भन्दै प्रधानमन्त्री ओलीले व्याजका बारेमा सामुहिक सहमतिमा निर्णय गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभयो ।
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले परिर्वतन रुचाउन नचाहनेहरुले जनतालाई माया गर्ने र स्पष्ट दृष्टिकोण भएको सरकार विरुद्ध भ्रमात्मक प्रचारवाजी गरेको टिप्पणी गर्नुभयो ।
उहाँले काठमाडौं उपत्यकालाई फोहोरको डंगुर र धुलाको थुप्रो बनाएर छाड्नेहरुले नै आफुलाई के गरिस् भनेर सोध्ने गरेको भन्दै व्यंग्य गर्नुभयो । उहाँले भन्नुभयो “कमसेकम ३० बर्ष सरकार चलाएकाहरु, सरकार चलाएर काठमाडौंलाई फोहोरको डुंगुर र धुलाको थुप्रो बनाएर सास फेर्न नसक्ने बनाएर छाड्नेहरु अहिले उफ्रि उफ्रिकन सोध्छन् ८ महिनामा के गरयौ ?”
मुलुक विकासको बाटोमा अघि बढेको देख्न नचाहने शक्तिले आफु विरुद्ध कु –प्रचार गरेको दाबी पनि उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “अहिले विकासको बाटोमा देश अगाडि बढ्न थालेकोले केही चिन्तित छन् । कुप्रचारको सिंङ जुधाँउनेहरु आफै रगतपिच्छे हुन्छन् । ”
प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रमा क्रमश सुधार आउदै गएको भन्दै लघुवित्त संस्थाहरुबाट सुविधा लिएर व्यवसाय गर्न सुझाव दिनुभयो । दुई दिने सम्मेलनमा मुलुकभरका ७५ लघुवित्तका सात सय सदस्य सहभागी छन् ।
नेपालमा लघुवित्त सुरु भएको तीन दशक पुगेको छ । गरिबी निवारण र सामाजिक रुपान्तरणका लागि लघुवित्तको अवधारणा सुरु भएको भएपनि पछिल्लो समय लगानी र व्याजदरका विषयमा सेवाग्राहीको गुनासो बढ्दै गएको देखिन्छ ।







प्रतिक्रिया दिनुहोस्