
काठमाडौं,१० मङसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताउनु भएको छ । उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको प्रथम बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।
उत्पादनका नयाँ क्षेत्र पहिचान गर्न त्यसलाई कार्यन्वयन गरेर दुई अंकको आर्थिक वृद्धि सहित समृद्धि हासिल गर्न धेरै समय नलाग्ने प्रधानमन्त्री ओलीको दाबी छ । “परम्परागत ढंगले धान फलाएर,गहुँ फलाएर वा आलु फलाएर मात्र आर्थिक वृद्धि हुदैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “खनिज पदार्थको उत्खनन्, र कृषिको आधुनिकीकरण मार्फत देशलाई समृद्ध बनाउन सकिन्छ । ”
प्रधानमन्त्री ओलीले दुई -तिहाइ बहुमत सहित देश निर्माण गर्ने दुरदर्शी योजना भएको सरकार भएकोले यसमाशंका नगर्न सबैलाई आग्रह गर्नुभएको छ । “बहुमतले मात्र देशको विकास हुदैन”प्रधानमन्त्री ओलीले भन्नुभयो “विगतमा पनि बहुमतका सरकार थिए तर केही भएन ।
अहिले देश निर्माणको ठोस योजना सहितको दुई- तिहाईको सरकार भएकोले देश बन्छ । यसकालागि सबै क्षेत्रको साथ सहयोग चाहिन्छ ।”देशनिर्माणको प्रमुख आधार सुशासन भएकोले त्यसको पालना मानिजी र सरकारी सबै क्षेत्र सजग हुनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
लोकतन्त्र राजनीतिक हक -अधिकार प्राप्तीको विषय मात्र भन्दा पनि आमजनताको जीवनमा सुखको अनुभुत गराउने माध्यम हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ ।
प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रमा भएका नीतिगत अफ्ठ्याराहरुलाई सजिलो बनाउन सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
“ सरकार र निजी क्षेत्रका चाहनाहरु कहिले काँही नमिल्न सक्छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर यथासक्य सरकार लचिलो भएर ऐन कानुनलाई परिमाजर्न गर्न तयार छ ।”
संघीय संसदको आगामी अधिवेशनमा आफ्ना- आफ्ना क्षेत्रमा भएका ऐन कानुनका अफ्ठ्यारालाई लिपिवद्ध गरेर संसद सचिवालयमा बुझाउन प्रधानमन्त्री ओलीले आग्रह गर्नु भएको छ ।
“संसदको आगामी अधिवेशनमा संसोधन गर्नु पर्ने ऐन कानुनहरु कारण सहित पेश गर्नुहोस हामी त्यसलाई अध्ययन गरेर सजिलो बनाउने प्रयास गर्छौं । ”







प्रतिक्रिया दिनुहोस्