ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मादलको तालसँगै कम्मर मर्काउँदै थारु युवतीले नाच्ने सखिया नृत्य


admin
आश्विन ३०, २०७५ मंगलबार  २ : ५१ बजे

कञ्चनपुर, ३० असोज । मादलको तालसँगै कम्मर मर्काएर थारु युवतीहरुले दशैंका बेला नाच्ने सखिया नृत्य सामाजिक सद्भाव र धार्मिक भावनाबाट ओतप्रोत छ ।
सामूहिक रुपमा सबैका घरघर गएर नाचिने भएकाले यस नृत्यले समाजमा सद्भाव फैलाउन मद्दत पु¥याएको छ ।

धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै यो नृत्यको आरम्भ र अन्त्य गर्ने गरिन्छ । यस नृत्यमा कञ्चनपुरका थारु समुदायको अटूट आस्था र धार्मिक विश्वास रहेको पाइन्छ ।

थारु समुदायले कृष्ण जन्माष्टमीको दिनदेखि सखिया नृत्यको शुरुआत गरेर दशैंसम्म निरन्तरता दिने गर्दछन् । तर, आजभोलि गाउँअनुसार अनुकूलता र प्रतिकूलतालाई ध्यानमा राखी सखिया नृत्यको आयोजना गर्ने गरिएको पाइन्छ ।

पहिला कम्तीमा एक महिनासम्म यस नृत्यको आयोजना गरिँदै आइएकामा खर्च बढी लाग्ने र बढी समय खेल्दा नाच्ने युवतीहरुलाई पट्यार लाग्ने भएपछि हाल छोट्याएर दशदेखि पन्ध्र दिनसम्म मात्रै नाच्ने गरिँदै आइएको थारु अगुवाहरु बताउँछन् ।

थारु गाउँका भलादमी, बडघर, गुरुवा, केसौका आदिको बैठक बसी सखिया नृत्यको आयोजनाबारे छलफल गरेपछि नृत्यको व्यवस्थापनको चाँजोपाँजो मिलाइने गरिन्छ ।
गुरुवा (झाँक्री) ले तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवकयुवतीलाई दुष्टात्माको भवितव्यवाट बचाउन पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन रहेको शुक्लाफाँटा नगरपालिका ३ जोनापुर गाउँका थारु अगुवा मनिराम चौधरीले बताउनुभयो ।

सखिया नृत्यमा भगवान् कृष्णको जन्मलीलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नृत्यमा चारजना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नृृृत्यको बीच बीचमा गीतलाई फरक फरक भाका हालेर गाउने गरिन्छ । मादल बजाउने कार्यको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमा ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भनिने बडघर चौधरीले बताउनुभयो ।

नृत्यमा गीत गाउने महिलाहरुको अगुवाइ गर्नेलाई “मोह्रिन्या” भन्ने गरिन्छ । मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीहरुलाई जेठ गोहीया र पछगोहीया भन्ने गरिन्छ । नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीहरु नृत्य पस्कने गर्दछन् जसलाई थारु भाषामा खोट (पैंया) भनिन्छ ।

थारु राजनीतिकर्मी दानसिंह दहितले भन्नुभयो – “पैंया २२ प्रकारको हुने भए पनि हाल मदारीहरुले आफैं सिर्जना गरेर पैंयाको तरीकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुन सक्छ ।”

यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरु खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा प्रस्तुत हुन्छन् । यो नृत्य हेर्न थारु गाउँहरुमा निकै भीड लाग्ने गरेको छ । सप्तमीको दिनसम्म रात्रि समयमा निश्चित स्थानमा गरिने यो नृत्य अष्टमीको रातभर आयोजना गरिन्छ ।

अष्टमीको रात आयोजना गरिने नृत्यलाई भेडुवा जगैना भन्ने गरिन्छ । थारु संस्कृतिका जानकार परदेशी चौधरीले भन्नुभयो – “यस दिन थारु समुदायले कुभिण्डोको भेंडा बनाई बलि दिने चलनसमेत रहेको छ ।”

पञ्चमीको दिन अघि सादा पोशाकमा यस नृत्यलाई पस्किन भए पनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारीहरुले सेतो धोती र कमिज लगाउने गर्दछन् भने नृत्य गर्ने युवतीहरुले रङ्गिबिरङ्गी ऐना जडान गरिएका लेहंगा, चोल्या, अंगिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन् ।

हातमा मैजरी लिएर मादलको तालसँगै महिलाहरुले बजाउने समेत गर्दछन् । अष्टमीको दिन पछि राति नाचिइँदै आइएको सखिया नृत्यलाई दिउँसो नाच्ने गरिन्छ ।
दिउँसो नाचिने सखिया नृत्यमा थारु युवतीहरुले कृष्णको लीलालाई यसरी आफ्नै भाषामा बखान गरी गीतमार्फत व्यक्त गर्ने गर्दछन् ।

बचपनसे कान्हा गुल्ली डण्डा (खेलनै रे हाँ)
ओइसे तरपे जीया मोर हाई रे सँवारिया रे हाँ ।

तिरछी बईठी कान्हा (बसिया बजाबै रे हाँ)
ओइसे तरपे जीया मोरे साँबरिया रे हाँ ।

छतिया चिहुरी चिहुरी कान्हा (मामा मरनै रे हाँ)
कन्सा मुवल भैनक हात हाई रे साँबरिया ।

गीतमा कृष्णको जन्मदेखि राधिकासँग रासलीला गरेको र कंस वध गरिएको प्रसंग उल्लेख गरिएको पाइन्छ । यस नाचलाई दशैंका दिन धनी, गरीब, गाउँका मान्यजन सबैका घरघरमा गएर देखाइने भएकाले विगतका रिसराग बिर्सेर सबैले हेर्ने गर्दछन् । बडघरसँग टीका थाप्न जाँदासमेत सखियालगायतका परम्परागत नृत्य लगेर देखाउने चलन यस समुदायमा रहेको छ ।

दशैंपछि गाउँमा नृत्यमा सहभागी सबैजनालाई सहभागी गराई भोज खाने चलन समुदायमा विद्यमान रहेको फुलराम चौधरीले बताउनुभयो । यसलाई थारु भाषामा ‘ख्यारा’ खाने भन्ने गरिन्छ ।

यो नृत्य सामूहिक रुपमा प्रस्तुत गरिने भएकाले यसले समाजमा सामूहिक भावनाको विकास गराउने र गाउँका बासिन्दाबीचको मनमुटाव र झगडालाई हटाई मेलमिलाप गराउने पिपलाडीका वडघर नरेन्द्र चौधरीले बताउनुभयो । धार्मिक मान्यता अनुरुप यो नृत्यको आयोजना गरेमा गाउँमा अन्नबाली बढी फल्ने, रोगव्याधि हट्ने र वर्षभरीका लागि अन्न खान पुग्ने विश्वास थारु समुदायमा रहेको छ । यसलाई अर्को शव्दमा थारु समुदायले धर्ती जाग्ना भन्ने गर्दछन् ।

सखिया नृत्यको आयोजनाले धर्ती जागेर प्रशस्त अन्न फल्ने विश्वास यस समुदायमा रहेको छ । विदेशी पर्यटकहरुलाई समेत यस नृत्यले गाउँसम्म तानेर तस्वीर खिच्न बाध्य पारेको छ ।
थारु समुदायका धार्मिक आस्था बोकेका गीत र नृत्यप्रति युवा वर्गले चासो देखाउन थालेपछि थारु संस्कृतिको संरक्षणमा टेवा पुगेको थारु सामाजिक कार्यकर्ता रेवन चौधरी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा कर्णालीकी संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश

मध्यपूर्व संकटको असर नेपालमा: सात गन्तव्यका उडान रद्द, अर्थतन्त्रमा चिन्ता

सम्बन्धित

ओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ

चुनाव विथोल्ने आशंकामा फेरि दुर्गा प्रसाईँ पक्राउ

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com