
चितवन, २६ साउन । नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव नेतृत्वको नेकपाले राजनीतिकभन्दा पनि आतंक मच्चाउने हिसाबले गतिविधि गरेको बताए ।
‘सरकार वार्ताका लागि तयार भएको हुदाँ विप्लव नेतृत्वको पार्टीप्रति सरकार आक्रामक भएको आरोप निराधार भएको अध्यक्ष प्रचण्डले बताए ।
वामपन्थीहरुकै सरकार भएकाले विप्लव समूहसँग सम्वाद, सहमति र एकता साथ जान सकिने बताउँदै उनले भने, ‘तर वितण्डातिर लाग्नु भएन, वितण्डा मच्चाएर केही हुन्छ कि भनेर सोच्नु अज्ञानता हो ।’
गृह जिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले जनताका गुनासा, चिन्ता र चासोका विषयमा सरकार जानकार रहेको भन्दै केही कमि कम्जोरी भए पार्टी र सरकार त्यसको समीक्षा गर्न तयार रहेको बताए ।
‘पछिल्लो समयमा भएका कतिपय घटनाक्रममा सरकार मुकदर्शक बन्यो वा चुप लागेर बस्यो भन्ने कुरा साँचो होइन,’ प्रचण्डले भने, ‘यी सबै घटनाक्रमहरु नियन्त्रणमा छन् । सरकार दृढताका साथ अघि बढेको छ ।
विकास र समृद्धिको एजेण्डा र सुशासनका निम्ति प्रयास भइरहेको छ ।’ यसैबीच अध्यक्ष प्रचण्डले अर्थमन्त्री परिवर्तन गर्ने विषयमा चलेको चर्चामा सत्यता नभएको प्रष्ट पारे । करका कारण जनताको छाएको चिन्तामा सरकार गम्भीर रहेको भन्दै उनले त्यसमा समीक्षा हुने बताए ।
करका कारणले संघीयता धरापमा पर्यो भनेर प्रचण्डले बोल्यो भनी गरिएको प्रचारमा सत्यता नभएको पनि उनले प्रष्ट पारे । कतिपय ऐन कानुन नबन्दा प्रदेश सरकारले राम्रोसँग काम गर्न नसकेको अध्यक्ष प्रचण्डको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्