
काठमाडौं, २२ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मंगलबार जल तथा मौसम विज्ञान विभागको अवलोकन भ्रमण गर्नुभएको छ । जलवायु तथा मौसम पूर्वानुमानका क्षेत्रमा भइरहेका कामलाई थप विस्तार गर्ने उद्देश्यले मन्त्री पुनको विभागमा भ्रमण भएको हो ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमै रहेको भवनमा पुगेर मन्त्री पुनले त्यहाको काम–कार्वाहीबारे जानकारी लिनुका साथै विभागका कर्मचारीसंग अन्र्तक्रिया समेत गर्नुभएको थियो । उक्त विभागमा मन्त्रीको भ्रमण भएको यो पहिलो पटक हो । भ्रमणका क्रममा उंहाले मुस्ताङको जोमसोम र हुम्लाको सिमिकोटमा मौसम पूर्वानुमान केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ । यसअघि देशका ५ विकास क्षेत्रमा पूर्वानुमान शाखा रहेका थिए ।
यसको क्षेत्र विस्तार गर्दै निजी र व्यवसायीक क्षेत्रलाई समेत सेवा दिने गरी काम गर्न पनि मन्त्री पुनले निर्देशन दिनुभयो । उहाले प्राविधिक जनशक्ति,सेवा विस्तार र बजेटको लागी आफुले सहयोग गर्ने बताउनुभयो । मन्त्री पुनले हवाई सेवाका लागी मौसमी पूर्वानुमान अनिवार्य भएको भन्दै यसलाई अझै प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाले त्यसका लागी आफुले सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 
सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाले यसको व्यवस्था तथा सुरक्षा उपाय अपनाउन पनि केन्द्र जरुरी रहेको मन्त्री पुनको भनाइ छ । विभागले २०२५ सालदेखि मौसम पूर्वानुमानको काम गर्दै आएको छ ।








प्रतिक्रिया दिनुहोस्