
निम्लेकी शेर्पा
काठमाडौं,१६ साउन । १ अगष्ट, नेपाल र उत्तरी छिमेकी मित्रराष्ट्र चीनबीच औपचरिक सम्बन्ध स्थापना भएको दिन । ६३ वर्ष अघि कुटनीतिक सम्बन्ध स्थापित भएपनि दुई मुलुकबीचको जनस्तरको सम्बन्ध भने २ हजार वर्ष पुरानो छ । विश्वकै शक्तिसम्पन्न मुलुक बन्दै गएको चीनसंग नेपालको लामो सम्बन्ध भएपनि चिनिया सहयोगलाई नेपालले अहिलेसम्म उपयोग गर्न सकेको छैन ।
नेपाल र छिमेकी राष्ट्र चीनबीको पारस्परिक सम्बन्ध प्राचिन कालदेखिकै हो । छिमेकी मुलुक चीनसँगको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध दुई हजार वर्ष पुरानो बलियो सम्बन्ध हो । तर औपचारिक कुटनीतिक सम्बन्ध भने ६३ वर्ष अघि सन् १९५५ अगष्ट १ मा स्थापित भयो । कूटनीतिक सम्बन्ध स्थापना पछि दुई मुलुकबीचको सम्बन्ध अझ बलियो र विस्तारपूर्ण भैरहेको छ ।
नेपालका लागि कूटनीतिक सम्बन्ध स्थापना गर्ने जनवादी गणतन्त्र चीन पाँचौ मुलुक हो भने चीनका लागि नेपाल नेपाल २७ आंै मुलुक हो । नेपाल र चीन बीचको सम्बन्ध आपसी सम्मान, विश्वास, मित्रता र सद्भावनामा आधारित छ । तर, यो ६३ वर्षको अवधिमा नेपालको आफ्नै कमजोर परराष्ट्र नीति र भएका सम्झौताहरुको कार्यन्वयनमा प्रभावकारिता नहुदा धेरै आशावादी बनेका नेपालीका लागि उपलब्धी शुन्य जस्तै भएको नेपाल चीन सम्बन्धका जानकारहरु टिप्पणी गर्छन् ।
उच्चतम मित्रवत सम्बन्धलाई राष्ट्रअनुकुल उपयोग गर्न नेपालले सकेको छैन । दशकौं लामो यात्रामा नेपाल र चीनबीच कुनै पनि विषयमा विवाद छैन । निर्धक्कका साथ नेपाल चीन सम्बन्ध समस्यारहित बन्दै आएको छ । तर पनि चीनसंग नेपालले जुन ढंगले फाइदा लिन सक्नुपर्ने हो लिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको हालै भएको चीन भ्रमणपछि त अझ दुई देशको सम्बन्धमा उच्चस्तरको विकास भएको छ । नेपालको समृद्धि र विकासमा सघाउ पुर्याउन चिनिया राष्ट्रपतिले सार्वजनिक रुपमै वचनवद्धता प्रकट गरेका छन् । तर, अझै पनि नेपाल आफै अलमलमा परेको जस्तै देखिन्छ । नेपाल चीनबीच महत्वपुर्ण योजनाहरु सहभागी प्रोटोकलमा हस्ताक्षर नहुनुले त्यो अलमललाई प्रष्ट पार्दछ । हामीले प्रयोग गर्ने शब्द जालो र हाम्रो काम गराईका कारण पनि उपलब्धिमुलक बन्न नसकेको चीन मामिला जानकार डाक्टर उपेन्द्र गौतमले बताए ।
चीनबाट लिने फाइदामा नेपालको अग्रसरता महत्वपुर्ण हुन्छ । चिनियाहरु सहमति, सम्झौता कार्यन्वयनका लागि आतुर छन् । तर हामी अठोटमा नै सीमित रह्यौं भने दुईपक्षीय सम्बन्धलाई नेपालहित अनुकुल प्रगति हुन सक्दैन । त्यसैले चीन सरकारले सुरु गरेका पुर्वधारका योजनाहरु सरकारले नागरिकसंग पनि सल्लाह र सहकार्य गरी सम्बन्ध र फाइदा लिन सक्नुपर्ने बताउंछन् डाक्टर गौतमको भनाई छ ।
चीन नेपालको सबै भन्दा विश्वाशिलो छिमेकी हो, जसले समस्या परेको बेला हरेक समय नेपाललाई सहयोग गरेको छ । देशमा राजनीतिक अस्थिरताका कारण केहि सुस्त बनेको सहयोग स्थायी सरकारसंगै नयां चरणमा प्रवेश गरेको छ ।
राजनीतिक, आर्थिक, सामाजिक, सञ्चार क्षेत्रमा समेत चीनको ध्यान नेपालको लागि विकासको नया आधार बन्न सक्ने अर्का जानकार हिरण्यलाल श्रेष्ठले बताए । तर, तत्कालिन फाइदा वेफाइदालाई नहेरी अहिले सम्मको सौम्य सम्बन्धको निरन्तरता नै दुवै देशको विशेषता हो । दुई देशबीचको सम्बन्ध बलियो र मजबुद बनाउन बेलाबेलामा हुनेगरेका उच्चस्तीय भ्रमणहरु हुने गरेका छन् ।
दुई मुलुकबीचको सम्बन्धको महत्वपुर्ण भेट विसं २०१२ बैशाख ११, तद्नुसार २५ अप्रिल १९५५ मा इन्डोनेशियाको वाङ्डुङमा भएको असंलग्न राष्ट्रको शिखर सम्मेलनमा राजा महेन्द्र र चीनका प्रधानमन्त्री चाउ एनलाईबीच भेटवार्ता पश्चात सुरु भएको मानिन्छ । त्यसलाई ऐतिहासिक भ्रमण मात्र होइन दुई देशबीचको कुटनितीक सम्बन्धको औपचारिकता समेत मान्न सकिन्छ । विस् सन् १९५७ मा चीनिया“ प्रधानमन्त्री चाउ एनलाईको नेपाल भ्रमण गरे ।
जुन चिनिया“ उच्चस्तरीय प्रतिनिधिमण्डलको पहिलो नेपाल भ्रमण थियो । आधुनिक चीनका योजनाकार देङस्यायो पिङले पनि सन् १९७८ मा नेपालको भ्रमण गरेका थिए । दुईदेशबीचको उच्चस्तरीय भ्रमण पछिल्लो समय प्राथमिकतामा परेको छ । अहिले नेपाल चिनिया राष्ट्रपति सि जिङ पिङलाई स्वागत गर्न आतुर छ । उच्चस्तरीय भ्रमणसंगै, हिमालयपार बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माण, सिल्क रोड र जलमार्ग जस्ता बहुआयामिक योजनाहरुको कार्यन्वयनमा नेपाल व्यवहारिक रुपमा तत्पर हुंदा नागरिकले कल्पना गरेको समृद्ध नेपालको सपना सम्भव छ ।







प्रतिक्रिया दिनुहोस्