
मोरङ ,१६ साउन । सरकारको निर्णय अनुसार आजबाट विराटनगरमा रहेको भारतीय फिल्ड अफिसको सेवा बन्द हुने भएको छ । भारत सरकारले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हटाए सँगै यहाँबाट हुने सेवा बन्द हुने भएको हो ।
मिनी दूतावासको रूपमा रहंदै आएको यो कार्यालय यहाँबाट काठमाडौंस्थित राजदूतावासमा स्थानान्तरण गरिएको बताइएको छ । भारतीय दुतावासका अनुसार आजदेखि विराटनगरस्थित फिल्ड अफिसबाट कुनै पनि सेवा दिइने छैन।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा फिल्ड अफिस सार्ने सम्बन्धमा भारतीय पक्षसँग छलफल गरेका थिए ।
२०६५ भदौ ४ गते सप्तकोशीको बाँध फुटेपछि बाँध निर्माणका लागि भन्दै फिल्ड अफिस निर्माण गरिएको थियो। सो समयमा कोशी पुल प्रयोग गर्न नसक्ने भएपछि नेपाली गाडीले भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकोले रुट परमीटको लागिसमेत उक्त कार्यालय प्रयोगमा ल्याइएको थियो।
भारतले फिल्ड अफिसबाट सेवा दिने नाममा गुप्तचर खटाएर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेकाले यो कार्यालय बन्द गर्न नेपाली पक्षले दबाव दिईरहेको थियो । तर, विराटनगरमा अवस्थित भारतीय फिल्ड अफिस हटाईएको थिएन् ।







प्रतिक्रिया दिनुहोस्