
काठमाडौं, १५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीचको समझदारी कार्यान्वयनमा दुई पक्षीय संयन्त्र सक्रिय हुन थालेको बताउनु भएको छ ।
प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि दुई मुलुकबीचमा गरिएको समझदारी कार्यान्वयनको कामले गति लिन थालेको अध्यक्ष प्रचण्डले बताउनु भएको हो ।
उहाँले नेपाल–भारतबीचको सम्बन्ध खुला र प्रगतिशील मानसिकताका साथ साझा स्वार्थका लागि अघि बढाउने प्रयत्न भइरहेको दावी पनि गर्नुभयो । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल–भारत थिंक टयांक समिट’ को उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपालको समृद्धि भारतको पनि स्वार्थको विषय भएको स्पष्ट पार्दै समान सार्वभौमसत्ता र समान स्वार्थमा आधारित रहेर आपसी सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भारतसँगको सहमति अनुसार रेल र जलमार्गमा जोड दिएर आर्थिक समृद्धिको यात्रालाई अघि बढाउने नेपालको योजना पनि अघि सार्नुभयो ।
अध्यक्ष दाहालले दुई मुलुकका प्रधानमन्त्रीबीचको ताजा विश्वासिलो सम्बन्धलाई आधार मानेर दुई मुलुकको बीचको सम्बन्धलाई अझै गाढा बढाउँदै लैजानुपर्नेमा पनि जोड दिनु भयो । कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले दुई मुलुकबीचको सम्बन्धलाई अझै उचाईमा पुर्याउन सम्वद्ध सबै पक्षलाई पहल गर्न आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि दुई मुलुकबीचको सम्बन्ध राम्रो भएको पनि स्मरण गराउनुभयो ।
कार्यक्रममा दुवै मुलुकका राजनीतिक, बुद्धिजीवि र व्यवसायीबीच दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने विविध आयामका विषयमा पनि अन्तरक्रिया गरिएको छ ।







प्रतिक्रिया दिनुहोस्