
काठमाडौँ, ३ साउन । बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौँ ल्याउन सरकारले आज बिहान हेलिकोप्टर पठाएको छ ।
उहाँको जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौँ ल्याउनु अत्यावश्यक भएकाले आज बिहान हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।
मन्त्रालयका सचिव खगराज बरालको टोली उहाँलाई लिन गएको छ । काठमाडौँ ल्याएपछि केसीलाई तत्काल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिनेछ ।
गएराति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ मन्त्रीसहितको बैठकले केसीको स्वास्थ्य खराब हुँदै गएकाले काठमाडौँ ल्याउने निर्णय गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।
‘केसीको जीवन रक्षाका लागि उनलाई काठमाडौं ल्याउनुको विकल्प छैन, हामी त्यसैले उनको बाँच्न पाउने अधिकार सुरक्षित गरेका छौं’ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले भने । देउवा सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा २० दिनदेखि अनसनरत थिए । यस बीचमा डा. केसीका प्रतिनिधिसँग सरकारका प्रतिनिधिबीच पटक पटक वार्ता भएपनि सहमति हुन सकेको छैन।
उहाँले चिकित्सा शिक्षा विधेयकबारे प्रतिनिधिसभाले प्रक्रियागतरुपमा निर्णय गर्ने जनाउनुभयो । बाँकी विषय चिकित्सा शिक्षा आयोगले टुंगो लगाउने उहाँले बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्