
काठमाडौं,३१ असार । नेपाल प्राथमिकता दिएर काम गरेमा अबको २ वर्षभित्र नारायणी नदीमा पानी जहाज चलाउन सकिने भएको छ ।
नेपाली र भारतीय अधिकारीहरुबिच काठमाडौंमा भैरहेको छलफलले तिब्र गतीमा काम गरेमा अबको २ बर्षभित्र नारायणी नदीमा पानीजहाज चलाउन सकिने निष्कर्ष निकालेको हो ।
आइतबारदेखि काठमाडौंमा सुरु भएको छलफलको नेतृत्व नेपालको तर्फबाट जल तथा उर्जा आयोजका सहसचिव माधव वेल्वासे र भारतको तर्फबाट भारतीय अन्तरदेशीय जलमार्ग प्राधिकरणका विज्ञ प्रवीर पाण्डेले गरेका छन् । प्रारम्भिक छलफलले भारतले पनि नेपालका जस्तै नदीमा पानीजहाज चलाइरहेको र नेपालले पनि छिटै नै चलाउन सक्ने निष्कर्ष निकालेको वार्तामा सहभागी जल तथा उर्जा आयोगका सहसचिव वेल्वासेले बताए ।
‘नेपालमा जल यातायातलाई निकै नै ठुलो विकासको आयोजना र सपनाको आयोजना भनिएको रहेछ, तर यो त छोटो समयमै पुरा हुने परियोजना हो’ भारतीय अन्तरदेशीय जलमार्ग प्राधिकरणका वरिष्ठ अधिकारी प्रवीर पाण्डेले छलफल कार्यक्रमा बताएको जल तथा उर्जा आयोगका सहसचिव वेल्वासेले जानकारी दिए ।
आइतबारको छलफलमा भारतले अहिले कुन कुन नदीमा कसरी पानी जहाज चलाइरहेका छन्, बन्दरगाहको कसरी व्यवस्थापन गरेको छ, भारतले अहिले निर्माण गरिरहेका जल यातायातको अवस्थालगायतका विषयमा छलफल भएको थियो ।
नारायणीमा पानीजहाज चलाउन सजिलो
आज भएको छलफलमा भारतबाट आएका भारतीय अन्तरदेशीय जलमार्ग प्राधिकरणका विज्ञले नेपालमा पानीजहाज चलाउन सकिने÷नसकिने भन्दा पनि कसरी चाँडै चलाउन सकिन्छ भन्ने बारेमा छलफल केन्द्रीत गर्न सुझाव दिएका थिए ।
छलफलमा नेपालको तर्फबाट पानीजहाज/जल यातायातको लागि कोशी र नारायणी नदी उपयुक्त रहेको भन्दै केहि तथ्य प्रस्तुत भएको थियो । त्यसलाई हेर्दा भारतीय विज्ञले नारायणी नदी विशेषगरी गण्डक ब्यारेज वरपरसम्मको भागमा पानीजहाज चलाउन सजिलो हुने प्रतिक्रिया दिएका थिए ।
‘तुलनात्मक रुपमा कोशी नदीमा भन्दा नरायणी नदीमा पानीजहाज चलाउन सजिलो हुने देखिएको छ’ भारतीय विज्ञलाई उद्धृत गर्दै जल तथा उर्जा आयोजनाका सह सचिव वेल्वासेले भने, ‘अर्को मनसुनसम्म अध्ययन पुरा गर्न सकिन्छ र त्यसको एक डेढ बर्षमा त जहाज नै चलाउन सकिन्छ, त्यसको लागि गण्डक ब्यारेजको आसपासमा अस्थायी स्टेशन बनाउन सकिन्छ ।’
उत्साहित मात्रै नभई नेपालले यो क्षेत्रलाई गम्भिर भएर काम गर्नुपर्नेमा भारतीय पक्षको सुझाव थियो । भारतले पनि अमेरिका र बेलायतबाट प्राविधिकहरु ल्याएर सुरुमा अध्ययन गरेकोले नेपालले पनि चाँडै नै विदेशी प्राविधिक ल्याएर अध्ययन थालिहाल्नुपर्ने सुझाव पनि भारतीयले दिएका छन् ।







प्रतिक्रिया दिनुहोस्