ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कहिले बन्ला दशरथ रंगशाला ?


admin

काठमाडौँ, १३ असार । मुलुककै ठूलो र अन्तर्राष्ट्रियस्तरको खेल मैदान ‘दशरथ रंगशाला’ को आउँदो फागुनभित्र पुनःनिर्माण सक्ने सरकारको योजना छ । 

गोर्खा भूकम्पका कारण क्षतिग्रस्त भएको सो रंगशाला पुनःनिर्माण हुन नसकेका कारण तीन वर्षयता कुनै पनि खेलकूद गतिविधि हुन पाएको छैन । विस २०१३ सालमा दशरथ रंगशाला निर्माण भएको हो ।


रंगशाला नबन्दा नजिकिँदै गरेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) र एशियन खेलको तयारीका लागि खेलाडीलाई अभ्यास गर्न पर्याप्त खेल मैदान छैन । त्यसैले जतिसक्दो चाँडो दशरथ रंगशाला पुनःनिर्माण गरिसक्नुपर्ने बाध्यता छ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार सो रंगशालाको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको र आगामी फागुन महिनाभित्र निर्माण कार्य सम्पन्न हुने बताउनुहुन्छ ।
“नेपालमै हुने ते¥हौं दक्षिण एसियाली खेलकूद प्रतियोगिता र उद्घाटन सत्र सोही मैदानमा हुने भएकाले हरहालतमा हामी रंगशालाको पुनःनिर्माण निर्धारित समयमै सक्ने पक्षमा छौं,” उहाँले रासससँग भन्नुभयो ।
सन् २०१९ को मार्चमा दक्षिण एसियाली खेलकूद प्रतियोगिता आयोजना गर्ने जिम्मा नेपालले पाएको छ ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्र्तगत पूर्वाधार पुनःनिर्माण तथा मर्मत शाखा प्रमुख अरुण उपाध्यायले रंगशालाको पुनःनिर्माण कार्य अघि बढाउन समयमै बजेट नआएको गुनासो गर्नुभयो । अर्थमन्त्रालयले बजेट निकासा नगर्दा काम गर्ने जिम्मेवारी पाएका निर्माण व्यवसायीलाई समेत समयमै पैसा उपलब्ध गराउन नसकेको शाखाको भनाइ छ ।
सबै पक्षको सहयोग भएमा आगामी सन् २०१९ फेबु्रअरीभित्रै भिआइपी प्यारापिटसहित सम्पूर्ण प्यारापिटमा कुर्सी जडान गरी निर्माण कार्य सम्पन्न गरिसक्ने राखेपको दाबी छ ।
“हामी छिटो निर्माण कार्य सक्ने पक्षमा छौं, बजेट बेलैमा नआउँदा कसरी हुन्छ त समयमै काम ?” – निर्माण शाखा प्रमुख उपाध्याय प्रश्न गर्नुहुन्छ । अहिले पुनःनिर्माण गर्न लागिएको रंगशाला साधारण र भिआइपी प्यारापिट गरी १५ हजार दर्शक अट्ने क्षमताको हुनेछ । पहिलेको तुलनामा अहिले केही कम क्षमताको बन्न लागेको हो ।
बजेटको विषयमा प्रश्न गर्दा खेलकूद मन्त्री सुनारले केही समयभित्र अर्थमन्त्रालयबाट बजेट निकासा हुने जानकारी दिनुभयो । खेलकूद मन्त्रालयले रंगशाला पुनःनिर्माण गर्न रु ५५ करोड ४२ लाख छुट्याएको छ । यसअन्तर्गत रंगशालासहित पौडी पोखरी र राखेपको एउटा भवन पनि बन्नेछ ।
रंगशाला बनाउन भ्याट बाहेक रु १६ करोड ५० लाख खर्च लाग्ने बताइएको छ । भत्काउन र निर्माण शुरु गर्न अहिलेसम्म रु ५ करोड खर्च भइसकेको छ । रंगशाला बनाउन अझै साढे ११ करोड रुपैयाँ आवश्यक छ ।
क्षतिग्रस्त रगंशालाको ‘फ्लड लाइट’, ‘स्कोर कार्ड’ र ‘सिन्थेटिक ट्र्याक’ बनाउन चीनले सहयोग गर्नेछ । यस अघि पनि ती संरचना चीनले बनाइदिएको हो ।
रंगशाला निर्माणको जिम्मेवारी लिनुभएका निर्माण व्यवसायी सनकसिह राईले भत्काउने काम सकिएको र बनाउने काम एक महिना अघिदेखि शुरु भएको बताउनुभयो ।
ढलान र फलामलगायतको काम करीब २० प्रतिशत सकिँदासम्म पैसा नपाएको गुनासो निर्माण व्यवसायीको छ । “समयमै पैसा उपलब्ध गराए पो काम तीव्र गतिमा बढ्छ, नभए त काम गर्न नै गाह्रो हुन्छ,” निर्माण व्यवसायी राईले भन्नुभयो । समयमै भुक्तानी पाए सरकारको लक्ष्यअनुरुप निर्माण कार्य सम्पन्न गर्न सकिने उहाँको दावी छ ।
हाल निर्माणाधीन यस रगंशाला क्षेत्रफल १३६ रोपनी जमीनमा फैलिएको छ ।

दशरथ रंगशालाको इतिहास 
पहिले खाली मैदान रहेको यो स्थानमा विस २०१३ सालमा रंगशाला बनाइएको हो । त्यतिबेला फुटबल खेल्ने उक्त सार्वजनिक मैदान सानो टुँडिखेलको नामले प्रसिद्ध थियो ।
राजा महेन्द्रको राज्याभिषेकको अवसर पारेर २०१३ सालमा फुटबल, टेबुलटेनिस, कुस्ती, एथ्लेटिक्स र व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने योजना राखियो । त्यसका लागि खेल मैदानको खाँचो महसुस गरी किरण शम्शेरलाई रंगशाला बनाउने कामको जिम्मा दिइएको थियो ।
त्यतिबेला रंगशालाको पूर्वपट्टि सेनाको छावनी थियो । उत्तरतर्फ बाँसको झयाङ थियो भने दक्षिणतर्फ खुला थियो । पश्चिमतर्फ राष्ट्रका केही विशिष्ट व्यक्ति आउँदा बसेर खेल हेर्ने घर बनाइयो । रंगशालाको पहिलोे संरचना त्यही बेला बनेको हो ।
राखेप सदस्यसचिवका रुपमा विस २०३४ मा शरदचन्द्र शाह नियुक्त भएपछि यसलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउने निर्णय भयो । विसं २०३५ मा शुरु गरिएको निर्माण कार्य २०३७ मा सम्पन्न भयो ।
रंगशालाको अहिलेको स्वरूप २०५५ सालमा तयार भएको थियो । नेपालले आठौं साफ आयोजना गर्ने निर्णयलगत्तै चीनले आधुनिक रंगशाला निर्माण गर्न सहयोग गरेको थियो ।

रंगशाला काण्ड 
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको त्रिभुवन च्यालेन्ज शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धाबीच प्रतिस्पर्धा भइरहेको थियो । विस २०४४ फाग्न २९ गतेको त्यो दिन अचानक हावाहुरीसहितको वर्षा हुँदा रंगशालामा भएको भागदौड मच्चियो र ७१ खेलप्रेमीले ज्यान गुमाए । सोही घटनामा नैतिक जिम्मेवारी स्वीकार्दै तत्कालीन शिक्षामन्त्री केशरबहादुर विष्टले राजीनामा दिनुभयो । यो घटनालाई नेपाली खेलकूदको इतिहासमा कालो दिनका रुपमा सम्झने गरिन्छ ।
खेल क्षेत्रलाई माथि उठाउने उद्देश्यका साथ सरकारको नीति तथा कार्यक्रममा यसपटक सातै प्रदेशमा रंगशाला बनाउने योजना पारिएको छ । यसवर्ष प्रदेश नं २, ६ र ७ गरी तीन ठाउँमा रंगशाला बनाउने योजना रहेको राखेपले जनाएको छ । यसका लागि सरकारले रु सात करोड ५० लाख छुट्याएको छ ।
रंगशाला निर्माणका लागि सरकारले यसअघि कायम भएका ७५ मध्ये ७३ जिल्लामा जग्गा छुट्याएको भएपनि अधिकांश जिल्लामा रंगशाला निर्माण प्रक्रिया शुरु पनि हुन सकेको छैन । राखेपका अनुसार अहिलेसम्म मुगु र रौतहटमा खेल मैदान बनाउन जग्गाको जोहो गर्न सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com