
काठमाडौं, ७ जेठ । निर्माण व्यवसायीहरुले गृहमन्त्री रामबहादुर थापा बादलसंग सोमबार गृह मन्त्रालयमा भेटेर ज्ञापनपत्र बुझाएका छन् । भेटघाटका क्रममा व्यावसायीहरुले गुन्डादेखि कर्मचारीहरु समेतले दुख दिने गरेको दुखेसो पोखे ।
उनीहरुले गुन्डादेखि कर्मचारीहरुबाट समेत आफुहरु पीडित भएको गुनासो गरेका हुन्।
उनीहरुको गुनासो सुनेपछि मन्त्री थापाले गुन्डादेखि कर्मचारी कसैलाई पनि पैसा नबाड्न निर्देशन दिदै कसैले मागे आफुहरुलाई खबर गर्न आग्रह गरे।
समयमा काम नगर्ने ठेकदारहरुलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएपछि धरपकड नगर्न ध्यानाकर्षण गराउन भन्दै ज्ञापनपत्र बोकेर व्यवसायीहरु मन्त्रीलाई भेट्न गएका हुन्।
व्यवसायीको गुनासो सुनेपछि मन्त्री थापाले ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने कार्यमा अब सरकार हेरेर नबस्ने चेतावनी पनि दिएका छन्।
मन्त्री थापाले भने, ‘विगतमा जे जस्तो काम गर्नुभयो, अब सच्चिएर काम गर्नुहोस् । यो सरकारले ढिलासुस्ती र अनियमिततालाई हेरेर बस्दैन।’ उनले भने, ‘कुन कर्मचारीले घुस माग्छ, कुन ईञ्जिनियरले घुस माग्छ त्यसको सूचना हामीलाई दिनुहोस । उनिहरुलाई तत्कालै जेल हाल्छौं।’
निर्माण व्यवसायीहरुले कर्मचारीहरुलाई हरेक कामका लागि घुस खुवाउनुपर्ने, गुण्डादेखि पार्टीसम्मलाई चन्दा दिनुपर्ने लगायतका समस्या राखेपछि मन्त्रीले यस्तो निर्देशन दिएका हुन्।
निर्माण व्यवसायीहरुले गृहमन्त्रीसमक्ष आवश्यकता अनुसार बालुवा, गिटी नपाईने, फलामै डण्डीको बढ्दो महंगी, सरकारी ढिला सुस्ती र लापरवाही, चन्दा दिनुपर्ने, घुस खुवाउनुपर्ने लगायतका समस्याका कारणले आफुहरुले भने अनुसार काम गर्न नसकिरहेको बताए ।
प्रतिनिधमण्डलले यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाएकोमा गृहमन्त्रीलाई धन्यवाद दिँदै निर्माण सामाग्री उत्पादनमा समेत केही व्यवसायीको सिण्डिकेट रहेको भन्दै हटाउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।







प्रतिक्रिया दिनुहोस्