काठमाडौं, १७ वैशाख । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको छ । यो क्रममा छानबिन समितिले सो घटनाको सबै पाटा केलाएको छ ।
अनुसन्धानको अन्तिम चरणमा आईपुग्दा विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन थाई एयरलाइन्सका कर्मचारी सानु वनबाट हराएको खुलेको छ। थाई एयरलाइन्सका प्राविधिक रहेका वनको विमानस्थलभित्रै रहस्यमय मृत्यु भइसकेको छ।
गत माघ ७ गते ३३ किलो सुन रहेको लगेज बानेश्वरस्थित चुडामणि उप्रेती (गोरे) को कार्यालयमा ल्याउन उनलाई जिम्मेवारी दिइएको थियो। मध्य बानेश्वरबाट अनामनगर आउने बाटोमा सुन भएको झोला लुटपाट भएको उनले बताएका थिए। सोही सुन लुटेको हुनसक्ने आशंकामा मोरङ उर्लाबारीका सनम शाक्यको पनि हत्या भएको थियो।
शाक्यको हत्या पछि नै सुन तस्करी प्रकरणको सम्पूर्ण घटना सतहमा आएको थियो । उनकै हत्या पछि गठन भएको अनुसन्धान टोलीले घटनामाथि विस्तृत छानबिन गर्दा विमानस्थलबाट लामो समयदेखि प्रहरी र एयरलाइन्सका कर्मचारीको मिलेमतोमा सुन तस्करी हुँदै आएको खुलेको थियो।
गत माघ २२ मा विमानस्थलकै रनवेमा नेपाल आयल निगमको हवाई इन्धन बोक्ने ट्याङ्करको ठक्करबाट वनको मृत्यु भएको थियो। जुन दुर्घटना जस्तो देखिएपछि आत्महत्या भएको प्रहरी अधिकारीहरु बताउँछन्। सिसिटिभी क्यामेरा फुटेजमा गुडिरहेको ट्याङ्करमुनि उनले हाम फालेको देखिएको छ। तस्कर समूहको यातना सहन नसकेर उनले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।
३३ किलो सुनसँग प्रत्यक्ष रुपमा गाँसिएका वनको नै मृत्यु भएपछि त्यो सुन कहाँ पुग्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन। अबको प्रश्न हो, हराएको सुन पत्ता लगाउन प्रहरी के सक्षम होला ? घटनामा संलग्न आरोपीतहरुलाई दोषी प्रमाणित गर्न सकिएला ?







प्रतिक्रिया दिनुहोस्