
काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसका ६ युवा नेताले शीघ्र महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यसमिति बैठकमा संयुक्त दस्तवेज पेश गरेका छन् ।
पाँच वर्षमा पार्टीलाई पहिलो पार्टी बनाउन तत्काल महासमिति बैठक बोलाएर ‘शीघ्र महाधिवेशन’ तयारी गर्नुपर्ने भन्दै केन्द्रिय कार्यसमिति बैठकमा युवा नेताहरुले दस्तावेज पेश गरेका हुन् ।
नियमित प्रक्रियाबाट छिटोमा दुई वर्षमा मात्र महाधिवेशन हुन सक्ने र यसले पार्टीलाई थप क्षति हुने भन्दै उनीहरुले महासमिति बैठकबाटै संशोधित विधान परित गरी शीघ्र महाधिवेशनमा जानुपर्ने माग गरेका छन् ।
पार्टी नेतृत्व एजेण्डाका आधारमा चयन हुने भएपनि उमेर केही होइन भन्न नसकिने भन्दै सबै किसिमका अतिवादसँगको असंख्य संघर्षले थाकेको नेतृत्वलाई सत्ताको शितल छहारीले शिथिल र यथास्थितिवादी बनाएको टिप्पणी गरेका छन् ।
युवा नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेललगायतले संयुक्त दस्तावेज पेश गरेका हुन् । काग्रेस नेता भण्डारीले महासमिति र शीघ्र महाधिवेशन गराएर सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न आग्रह गर्ने लगाएका बिषय समेटिएको प्रस्ताव पेश गरिएको जानकारी दिनुभयो ।
काग्रेस कार्यसमितिको मंगलबारको बैठकमा आधा दर्जन केन्द्रिय सदस्यले निर्वाचनको परिणामलाई लिएर धारणा राखेको प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाले बुधबार सबै केन्द्रिय सदस्यले धारणा राख्ने क्रम सकिने र निष्कर्षका पुराउने जानकारी दिनुभयो ।
बैठकमा संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पक्षबीच निर्वाचनको परिणामलाई लिएर आरोप प्रत्यारोप भएपछि बाहिर आएजस्तो विवाद नभएको प्रवक्ता शर्माले बताउनुभयो ।
निर्वाचनको समीक्षा गर्न बैठक गत चैत ९ गते शुरु भएको हो । चैत १६ गते नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगित भएको बैठक आईतबारबाट पुनः शुरु भएको थियो ।







प्रतिक्रिया दिनुहोस्