काठमाडौँ, १६ जेठ नेकपा (एमाले) ले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट ‘गैरजिम्मेवार र हावादारी’ भएको निष्कर्ष निकालेको छ।
सिंहदरबारमा शनिबार बसेको एमाले संसदीय दलको बैठकले सरकारले ल्याएको बजेटले आम जनताको भावना र देशको वर्तमान आवश्यकतालाई समेट्न नसकेको ठहर गरेको हो। ‘बजेट एक किसिमको गैरजिम्मेवार र हावादारी छ भन्ने हाम्रो निष्कर्ष रहेको छ,’ एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले भने।
बैठकका निर्णयबारे जानकारी दिँदै प्रमुख सचेतक महरले बजेटमाथि पार्टीको साझा दृष्टिकोण बनाउन घनीभुत छलफल भएको बताए। झण्डै ६ घण्टा बसेको एमाले संसदीय दलको बैठकमा विज्ञहरूले पनि सहभागी थिए।
एमाले संसदीय दलको बैठकमा बजेटका विभिन्न आयाम र प्राविधिक पक्षबारे पार्टीका शीर्ष नेता तथा विज्ञहरूले सहजीकरण गरेका थिए। सहजीकरण गर्नेहरूमा पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा। युवराज खतिवडा तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। शिवराज अधिकारी रहेका थिए।
विज्ञहरूको विश्लेषण र सांसदहरूको रायका आधारमा एमालेले बजेटमा रूपान्तरणकारी योजनाको अभाव रहेको निष्कर्ष निकालेको हो। ‘समग्रमा बजेट एकदम गैरजिम्मेवार र हावादारी छ,’ महरले भने, ‘जुन जनमतका साथ झन्डै दुई तिहाई प्राप्त गरेको सरकारको जुन रुपान्तरणको बजेट हुनुपर्थ्यो, त्यो आउन सक्या छैन।’
एमालेले किन हावादारी बजेट भनेको हो भने पनि सञ्चारकर्मीले प्रश्न गरेका थिए। त्यसको जवाफमा महरले भने, ‘किन हावादारी छ त भन्दा यसले जुन यसको स्रोत सुनिश्चितता जुन छ त्यो पनि भरपर्दो छैन। ऋणमा भर परेको देखिन्छ र त्यो ऋणको पनि स्रोतको सुनिश्चितता छैन। त्यसैले यो बजेट पर्याप्त छैन।’
यससँग बजेटले निम्न वर्गलाई समेट्न नसकेको एमालेको निर्क्योल छ। एमालेले शिक्षा, कृषि र पर्यटन जस्ता महत्त्वपूर्ण क्षेत्रलाई बजेटले प्राथमिकतामा नराखेको आरोप छ।
‘एउटा गरिब, सर्वहारा वर्ग, मजदूर, किसानलाई यसले ध्यान दिन सक्या छैन। यसले महिलाहरूलाई, बालबालिकाहरूलाई, विद्यार्थीहरूलाई ध्यान दिन सक्या छैन। शिक्षा, कृषि, पर्यटन जस्ता क्षेत्रहरूमा यसले ध्यान दिन सक्या छैन,’ उनले भने।
आगामी जेठ १८ गतेदेखि संसद्मा बजेटमाथि हुने छलफलमा एमालेले यिनै विषयहरूलाई केन्द्रमा राखेर आफ्नो धारणा प्रस्तुत गर्ने तयारी गरेको छ। संसदीय दलको बैठकले बजेटका कमजोरीहरूलाई सशक्त रूपमा सदनमा उठाउने र साझा दृष्टिकोणका साथ अघि बढ्ने निर्णय गरेको छ।








प्रतिक्रिया दिनुहोस्