काठमाडौं, २ जेठ । प्रहरीले काठमाण्डौका विभिन्न शैक्षिक परामर्श केन्द्रबाट ६९ जना सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो उनीहरुलाई पक्राउ गरेको हो ।
शैक्षिक परामर्श केन्द्रहरूले पालना गर्नुपर्ने मापदण्ड प्रक्रिया पूरा नगरी र दर्ता तथा नवीकरण नगरी पूर्वतयारी कक्षा, भाषा शिक्षणसम्बन्धी सेवा प्रदान गर्दै आएकाले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उपत्यकाका ९५ वटा शैक्षिक परामर्श केन्द्रमा गरिएको अनुसन्धानमा गैरकानुनी कार्य गरेको फेला परेको हो ।
ती केन्द्रहरूले उच्च शिक्षाका लागि विदेश पठादिन्छु भनी नेपाली नागरिकलाई ठगी गर्ने गरेको भन्ने उजुरी, गुनासो निवेदन परेकाले शिक्षा ऐन, २०२८ शिक्षा नियमावली २०५९ र शैक्षिक परामर्थ सेवा तथा भाषा शिक्षण निर्देशिका, २०७३ मा उल्लेखित मापदण्डअनुसार दर्ता, नवीकरण नगरी विना इजाजत सेवा सञ्चालन गरिएको पाइएको कार्यालयले जनाएको छ । ती परामर्श केन्द्रहरूबाट ठगीमा परेको भए निवेदन दिन पनि प्रहरीले आग्रह गरेको छ ।








प्रतिक्रिया दिनुहोस्