काठमाडौं, ३० वैशाख । चीनमा डोनाल्ड ट्रम्पको भव्य स्वागत गरिएको छ। दुई दिने भ्रमणमा बेइजिङ पुगेका उनको विमान स्थानीय समयअनुसार ७ः ५० मा अवतरण गरेको थियो।
उनको स्वागतका लागि तीन सय बालबालिका निलो र सेतो पहिरनमा उपस्थित भएका थिए। ट्रम्प विमानबाट ओर्लिंदा उनीहरूले हातमा अमेरिकी र चिनियाँ झण्डा हल्लाएर स्वागत गरे।
विमानस्थलमा ट्रम्पको स्वागतका लागि चिनियाँ उपप्रधानमन्त्री हान चेङ पुगेका थिए। उनी सीका कूटनीतिक दूतका रुपमा चिनिन्छन्। जो गत वर्ष ट्रम्पको शपथ समारोहमा पनि सहभागी भएका थिए।
आगमनलगत्तै ट्रम्प छोरा एरिक र बुहारी लारा ट्रम्पको साथमा स्वागत समारोहमा सहभागी भएका थिए। जहाँ रातो कार्पेट ओछ्याएको थियो भने सैन्य टुकडी र ब्यान्डले उनलाई गार्ड अफ अनर दिएको थियो।
चिनियाँ सामाजिक सञ्जाल वेइबोमा ह्यासट्याग वेलकम ट्रम्प टु चाइना ट्रेन्डिङमा छ।
इरान युद्धमा हात लागेको असफलताका कारण कमजोर अवस्थामा ट्रम्प चीन पुगेका हुन्। तथापि चीनले उनलाई खुसी पार्ने कोसिस गर्ने विश्लेषकहरूको भनाइ छ।
ट्रम्प र सीबीचको शिखर बैठकमा मुख्यगरी व्यापार युद्ध, इरान युद्ध र ताइवानबारे छलफल हुने अपेक्षा गरिएको छ। भ्रमण दलमा एक दर्जन भन्दा अमेरिकी कम्पनीका सीईओहरू सहभागी छन्।
त्यसैले व्यापारका क्षेत्रमा ठूला सम्झौता हुनसक्ने आकलन गरिएको छ। तथापि, द्विपक्षीय सम्बन्धमा ठूलो ब्रेकथ्रुको सम्भावना नरहेको कूटनीतिका जानकारहरूले चेताएका छन्।








प्रतिक्रिया दिनुहोस्