काठमाडौं, १४ वैशाख । सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजी नारायणदत्त पौडेललाई बढुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।
हालका आईजीपी राजु अर्याल वैशाख १८ देखि आईजीपीको ४ वर्षे कार्यकाल पूरा गरेर अवकाशमा जाँदै छन् । अर्यालले २०७९ वैशाख १९ देखि सशस्त्रको कमान्ड सम्हालेका थिए । सरकारले उनी अवकाशमा जान चार दिन बाँकी हुँदै नयाँ आईजीपीमा पौडेललाई नियुक्त गरेको हो । आईजीपीका लागि एआईहरू बंशी दाहाल र गणेश थापा मगर पनि प्रतिस्पर्धामा थिए । तर, सरकारले वरीयताको एक नम्बरमा रहेका पौडेललाई आईजीपी नियुक्त गरेको हो ।२०५४ चैत १८ मा इन्स्पेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका पौडेल सशस्त्र प्रहरी बलको गठन भएपछि २०५८ वैशाख ४ गते स्थानान्तरण भएका थिए । बुबा रेश्मीलााल पौडेल र आमा नन्दकली पौडेलको कोखबाट सुर्खेतको साविक जर्बुटामा उनको जन्म भएको हो । स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका पौडेलले नेपाल प्रहरीबाट करियर प्रारम्भ गर्दादेखि नै महत्त्वपूर्ण जिम्मेवारीहरू सम्हाल्दै आएका छन् ।
प्रहरी निरीक्षक हुँदा पौडेल तत्कालीन माओवादी युद्धरत रहँदा रोल्पा स्ट्राइकिङ टोली कमान्डरको रूपमा खटिएका थिए । त्यो बेला प्रहरी प्रधान कार्यालयले १ ग्रेड थप गरी पुरस्कृत नै गरेको थियो । रोल्पाबाहेक प्रहरी निरीक्षक हुँदा उनी ईलाका प्रहरी कार्यालय बिर्तामोड, जिल्ला प्रहरी कार्यालय दाङलगायत संवेदनशिल ठाउँमा खटिएका थिए । सशस्त्र प्रहरी बलमा प्रवेशपछि सशस्त्र प्रहरी नायव उपरीक्षक रहँदा सुरक्षा वेश तुल्सीपुर, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा रहेर काम गरेको अनुभव उनीसित छ ।यसरी नै सशस्त्र प्रहरीको एसपी हुँदा सीमा सुरक्षा कार्यालय बर्दिया, निलबराही गण र बगलामुखी विशेष कार्यदल गणको गणपतिको नेतृत्व गरेका थिए ।यसरी नै पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पकली, सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्य विभाग र उपत्यका सशस्त्र प्रहरी बल मुख्यालय पशुपतिनाथ बाहिनी (ईन्ट) मा रही फिल्ड ड्युटी तथा स्टाफिङमा काम गरेको अनुभव पौडेलसित छ ।सशस्त्र प्रहरीको एसएसपी हुँदा प्रधान कार्यालयमा प्रशासन विभाग, उपत्यका सुरक्षा कार्यालय (ईन्ट) प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा प्रमुख तथा यूएन शान्ति स्थापनार्थ तालिम शिक्षालय, ककनीको कमान्ड सम्हालेका थिए ।डीआईजी हुँदा कार्य तथा सीमा सुरक्षा विभाग तथा मानवस्रोत विभाग लुम्बिनी तथा गण्डकी प्रदेशस्थित बाहिनी मुख्यालयको कमान्ड सम्हालेका छन् ।एआईजी हुँदा मानवस्रोत, सीमा तथा कार्य विभागमा रहेर रणनीतिक तथा नीतिगत निर्माण र कार्यन्वयनको भूमिका निर्वाह गरेको अनुभव पौडेलसित छ ।
पाँचवटा सम्मान
वैशाख १९ गतेदेखि सशस्त्र प्रहरी बलको कमान्ड सम्हाल्ने पौडेल राष्ट्रिय र अन्तराष्ट्रिय विभिन्न पाँचवटा पुरस्कारबाट सम्मानित भएका छन् ।
सरकारले पौडेललाई सुप्रबल जनसेवा श्री, प्रबल जनसेवा श्री चौथो, गोरखा दक्षिण बाहु चौथो, प्रदेश सेवा पदक र संयुक्त राष्ट्रसंघ पदक लाइबेरिया र कोसोभोले सम्मान गरेको छ ।
पौडेलले राष्ट्रिय अन्तराष्ट्रिय विभिन्न तालिमको अनुभव लिएका छन् ।
कहिले कुन पदमा भए बढुवा ?
नेपाल प्रहरीको इन्स्पेक्टरमा २०५४ चैत १८ मा भर्ना भएका पौडेल चार वर्षपछि नै २०५८ वैशाख १८ मा सशस्त्र प्रहरी बलको डीएसपी भएका थिए । २०६३ वैशाख २९ मा उनी डीएसपी पदबाट सशस्त्र प्रहरी बलको एसपी बने ।
एसपी पदमा करिब ७ वर्ष कमान्ड सम्हालेपछि उनी २०७० जेठ २ मा एसएसपीमा बढुवा भएका थिए । पौडेल २०७५ कार्तिकमा डीआईजी र २०७९ जेठ ६ मा एआईजीमा बढुवा भएका हुन् । एआईजी भएको चार वर्षपछि उनी सशस्त्र प्रहरी बलको आईजीपी बनेका हुन् ।
पौडेलसित विशेष सशस्त्र तथा युद्धकला तालिम, सशस्त्र प्रहरी सहिष्णुता तालिम, नेपाली सेना गुल्मपति तथा स्टाफ तालिमसहित विभिन्न अन्तर्राष्ट्रिय तालिम लिएको अनुभव छ ।








प्रतिक्रिया दिनुहोस्