काठमाडौं, ३ वैशाख । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् विघटन र निर्वाचन आफ्नो पार्टीको मूल एजेन्डा नभएको बताएका छन्। यसअघि निर्वाचनमा जाने विषयमा दिएका अभिव्यक्ति सच्याउँदै उनले परिस्थिति र राष्ट्रपतिको प्रस्तावका कारण आफूहरू बाध्य भएको दाबी गरेका हुन्।
बिहीबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय संयोजन समितिको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले आफ्नो अघिल्लो धारणा परिमार्जन गरेका हुन्।
बैठकमा जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा पार्टीको पक्षमा अनुकूल माहोल नहुँदा पनि निर्वाचनमा किन गएको भन्ने विषयमा नेतृत्वमाथि आलोचना भएको थियो। फागुन २१ मा सम्पन्न निर्वाचनमा नेकपाले जम्मा १७ सिट जितेको थियो। पार्टीका प्रमुख नेतामध्ये प्रचण्ड र वर्षमान पुन मात्र विजयी भएका थिए।
पार्टी नेता देवेन्द्र पौडेल का अनुसार प्रचण्डले बैठकमा भने, “निर्वाचनमा जाने हाम्रो चाहना थिएन। संसद् विघटन पनि हाम्रो कारणले भएको होइन। राष्ट्रपतिले समस्याको निकास निकाल्न संसद् विघटन गरी निर्वाचनमा जान प्रस्ताव गरेपछि बाध्य भएर समर्थन गरेका हौँ।”
उनले राष्ट्रपति रामचन्द्र पौडेल को प्रस्तावपछि मात्रै पार्टीले निर्वाचनलाई समर्थन गरेको स्पष्ट पारेका छन्।
बैठकमा प्रचण्डले पार्टी रूपान्तरणसँगै बृहत् वामपन्थी एकता को आवश्यकता औँल्याएका छन्। उनले पहिला महाधिवेशनमार्फत पार्टीलाई बलियो बनाउँदै त्यसपछि मात्रै एकता र ध्रुवीकरणको प्रक्रियामा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
उनले भने, “अहिलेको परिस्थितिमा बृहत् वामपन्थी एकता आवश्यक छ। त्यसका लागि पहिला पार्टीलाई रूपान्तरण र सुदृढ बनाउन जरुरी छ।”
बैठकमा सहसंयोजक माधवकुमार नेपाल ले पनि प्रचण्डको धारणा समर्थन गर्दै वाम शक्तिहरूबीचको एकताको विषयमा हतारमा निर्णय गर्न नहुने बताएका थिए।
बैठक स्थगित गरिएको छ भने अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने बताइएको छ। आगामी बैठकले नेताहरूको कार्यविभाजन तथा भावी राजनीतिक कार्यक्रमबारे निर्णय गर्ने जनाइएको छ।








प्रतिक्रिया दिनुहोस्