काठमाडौं — अमेरिकाको रोड आइल्यान्ड राज्यको सेन्ट्रल फल्स शहरमा काम गरिरहेकी ५० वर्षीया नेपाली महिला पुतली कुँवर (परिवार र साथीहरूले अश्मिता भनेर चिन्थिन्) को सैलुनभित्रै चक्कु प्रहार गरी हत्या भएको छ । यो घटना स्थानीय समयअनुसार मार्च २६, २०२६ बिहीबार बिहान भएको हो ।
प्रहरीका अनुसार घटना Sue’s Salon (हन्ट स्ट्रीट, सेन्ट्रल फल्स) मा भएको थियो । बिहान करिब ९:५२ बजे सैलुन खुल्नुअघि नै ६६ वर्षीय लरेन्स बुभा (Lawrence Beauvais) नामका व्यक्तिले सैलुनमा प्रवेश गरेका थिए । उनले ज्याकेटको जेबबाट चक्कु निकालेर पुतलीमाथि आक्रमण गरे । पुतलीले आफूलाई बचाउन प्रयास गर्दा दुबैबीच झगडा भयो र उनलाई कम्तीमा ८ पटक चक्कु प्रहार गरिएको प्रहरीले जनाएको छ ।
आक्रमणपछि संदिग्धले सैलुनको क्यास रजिस्टर फोडेर पैसा लिएको र सिसिटिभी क्यामेरा प्रणाली नै बन्द गरेको सीसीटीभी फुटेजमा देखिएको छ । घटना दिउँसो करिब १२:५० बजे प्रहरीले पुतलीलाई म्यानेजरको कार्यालयमा घोप्टो परेर मृत अवस्थामा फेला पारेको थियो ।
संदिग्ध पक्राउ
सेन्ट्रल फल्स प्रहरीले सिसिटिभी फुटेज, नम्बर प्लेट रिडिङ टेक्नोलोजी र अन्य प्रमाणको आधारमा संदिग्धलाई पहिचान गरी मार्च २७ शुक्रबार मा म्यासाचुसेट्सको नर्थ एटलबोरो स्थित एक मोटेलबाट पक्राउ गरेको छ । उनलाई रोड आइल्यान्ड लगेर पहिलो दर्जाको हत्या (First-degree murder) र पहिलो दर्जाको डकैती (First-degree robbery) को आरोपमा मुद्दा चलाइनेछ ।
पीडितको परिवार र समुदायको शोक
पुतली कुँवरका श्रीमान् लिला बहादुर थापा ले आफ्नो पीडा व्यक्त गर्दै भनेका छन्, “मेरो श्रीमती मेरो सबैथोक थिइन् ।” २० वर्षको वैवाहिक जीवन एकाएक यसरी टुंगिनु अकल्पनीय भएको उनको भनाइ छ ।
पुतली विदेशमा आफ्नो परिवारको उज्ज्वल भविष्यका लागि निरन्तर संघर्ष गरिरहेकी थिइन् । सैलुनका मालिक र नेपाली समुदायले उनलाई अत्यन्त मिलनसार, मेहनती र सबैको प्रिय व्यक्तिका रूपमा सम्झिएका छन् । GoFundMe मार्फत उनको परिवारलाई आर्थिक सहयोग जुटाउने अभियान पनि सुरु भएको छ ।
सेन्ट्रल फल्सका मेयर मारिया रिभेराले यो घटनालाई शहरका लागि “दिल दुखाउने २४ घण्टा” भनेकी छन् । उनले पुतलीको परिवार, आफन्त र सैलुन समुदायप्रति समवेदना व्यक्त गरेकी छन् ।
यो घटनाले अमेरिकामा बसोबास गरिरहेका नेपाली समुदायमा ठूलो स्तब्धता र safety को चिन्ता बढाएको छ । विदेशमा मेहनत गरेर जीवन चलाउने नेपाली दिदीबहिनीहरूका लागि यस्ता हिंसात्मक घटना अत्यन्त पीडादायी भएको समुदायका सदस्यहरूले बताएका छन् ।
प्रहरीले अनुसन्धान जारी राखेको छ । अदालतले संदिग्धलाई रोड आइल्यान्डमा लगेर थप प्रक्रिया अघि बढाउने बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्