काठमाडौं,११ चैत्र । इरानी सञ्चारमाध्यमहरूले मंगलबार दुई ग्यास संयन्त्र र एक पाइपलाइनलाई लक्षित गरी हमला भएको दाबी गरेका छन् ।
फार्स न्युज एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऊर्जा पूर्वाधारमा हमला नगर्न निर्देशन दिएको केही समयपछि यस्तो घटना भएको बताइएको छ ।
फार्सका अनुसार इस्फहानस्थित कावेह स्ट्रिटमा रहेको ग्यास प्रशासन भवन र ग्यास प्रेसर रेगुलेसन स्टेसनलाई इजरायली र अमेरिकी पक्षबाट निशाना बनाइएको हो ।
केन्द्रीय इरानमा रहेका यी संरचनामा सामान्य क्षति पुगेको जानकारी दिने फार्स मात्र एकमात्र सञ्चारमाध्यम हो ।
यसबाहेक दक्षिण–पश्चिमी इरानको खोर्रमशहर पावर प्लान्टसँग जोडिएको ग्यास पाइपलाइनलाई पनि लक्षित गरी हमला गरिएको दाबी गरिएको छ ।
इराक सीमासँग जोडिएको उक्त सहरका गभर्नरलाई उद्धृत गर्दै फार्सले जनाएअनुसार ग्यास पाइपलाइन प्रोसेसिङ स्टेसन बाहिरको क्षेत्रमा एक प्रोजेक्टाइल खसेको थियो । यद्यपि, उक्त घटनाबाट प्लान्टको सञ्चालनमा कुनै अवरोध नआएको र ठूलो क्षति नभएको जनाइएको छ ।
यसअघि राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा तनाव कम गर्न प्रयास भइरहेको दाबी गर्दै पाँच दिनसम्म इरानका ऊर्जा संयन्त्रमा हमला नगर्न निर्देशन दिएको बताएका थिए । उनले इरानसँग सकारात्मक र रचनात्मक संवाद भइरहेको पनि उल्लेख गरेका थिए ।
तर इरानले भने वर्तमान द्वन्द्वमा पछि नहट्ने स्पष्ट संकेत दिएको छ । इरानी पक्षले आफूलाई पुगेको क्षतिको क्षतिपूर्ति नहुन्जेल संघर्ष जारी रहने बताएको छ ।
साथै, इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकारले सबै आर्थिक प्रतिबन्ध हटाउन र भविष्यमा अमेरिकाले हस्तक्षेप नगर्ने ठोस ग्यारेन्टी दिनुपर्ने सर्त अघि सारेका छन् ।








प्रतिक्रिया दिनुहोस्