काठमाडौं, ६ चैत्र । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवारलाई भोट हाल्ने पार्टी नेताहरुको खोजी थालेको छ । त्यस्ता नेता पत्ता लगाएर कारबाही गर्ने चेतावनी उसले दिएको छ ।जनवर्गीय संगठनहरुका नेताहरुको बैठकलाई विहीबार पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय सदस्यहरुले नै आफ्नो पार्टीका उम्मेदवारलाई भोट नहालेको रिपोर्ट आएको जानकारी दिए ।
५० प्रतिशत भोट रास्वपाको चुनाव चिह्न घन्टीमा गएको रिपोर्ट आएको जानकारी गराउँदै उनले भने, ‘फिप्टी पर्सेन्ट घण्टीमा गए भन्ने जनरल रिपोर्ट आएको छ । कोकोले भोट हालेनन् केन्द्रीय सदस्यमध्ये, प्रदेश सदस्य, तपाईंहरुको जनवर्गीय संगठनका नेताहरु को क्षेत्रमा गएनन्, कले भोट हालेनन्, कले घण्टीमा हाले, त्यो रिपोर्ट तपाईंहरुले दिनैपर्यो हामीलाई । तिनलाई कारबाही गर्नैपर्छ ।’आफ्नो पार्टीलाई भोट नदिएर रास्वपालाई भोट हाल्नेहरुमाथिको कारबाहीको सुरुवात केन्द्रीय सदस्यबाटै हुने बताए । ‘नत्र भने पार्टी बनाउन सकिँदैन । तिनलाई कारबाही गरिन्छ ।
सबभन्दा पहिला सुरु गरिन्छ केन्द्रीय सदस्यबाट,’ प्रचण्डले भने ।पार्टी पुनर्गठनको सुरुवात पनि यहीँबाट हुने प्रचण्डको भनाइ छ । ‘फिप्टी पर्सेन्ट घण्टीमा गए भन्ने जनरल रिपोर्ट आएको छ । हामीले भनेका छौं ठोस रिपोर्ट ल्याउनुहोस्,’ प्रचण्डले भने, ‘कोले हालेन, कोको घण्टीतिर गएको देखियो, तिनलाई हामी आँखा चिम्लेर कारबाही गर्छौं अहिले ।
पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो ।’जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दुई दर्जन बढी कम्युनिस्ट घटक एकता गरी नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो । सार्वजनिक कार्यक्रमहरुमा संयोजक प्रचण्डले फागुन २१ को चुनावबाट सबैभन्दा ठूलो दल बन्ने भाषण गरेका थिए । तर रास्वपाले प्रत्यक्षमा १२५ सिट जित्दा नेपाली कम्युनिस्ट पार्टी ८ सिटमा सीमित भयो । प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित हुँदा सहसंयोजक माधव कुमार नेपाल गृहजिल्ला रौतहटमै पराजित भए ।
चुनाव लगत्तै नेपाली कम्युनिस्ट पार्टीले तल्लो कमिटीमा सर्कुलर गरी चुनावको समीक्षा रिपोर्ट पठाउन भनेको छ । हाल रिपोर्ट संकलनको काम जारी रहेको केन्द्रीय कार्यालयका एक कर्मचारीले बताए । उनका अनुसार धेरैजसो रिपोर्टहरुमा आफ्नै पार्टीका संगठित नेता–कार्यकर्ताहरुबाट भोट नपाउँदा चुनावमा हार व्यहोर्नु परेको निष्कर्ष छ ।








प्रतिक्रिया दिनुहोस्