काठमाडौं । नेपाल आयल निगम ले बजारमा देखिएको ग्यास अभाव व्यवस्थापन गर्न भोलि शुक्रबारदेखि आधा सिलिन्डर ग्यास मात्र वितरण गर्ने निर्णय गरेको छ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार, अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन्। आधा सिलिन्डरको मूल्य पनि साविकको ग्यासको मूल्यको आधा नै निर्धारण गरिएको छ।
उनका अनुसार अन्तर्राष्ट्रिय स्तरमा भइरहेको युद्धका कारण ग्यासको माग बढेको छ र आपूर्तिमा केही समस्या देखिएको छ। सोही अवस्थालाई व्यवस्थापन गर्दै बजारमा ग्यासको उपलब्धता सहज बनाउन निगमले यस्तो निर्णय गरेको हो।
निगमको दाबी अनुसार आधा सिलिन्डर वितरण गर्दा सीमित आपूर्तिबाट बढी उपभोक्तासम्म ग्यास पुर्याउन सकिनेछ। भट्टका अनुसार पहिले जहाँ १ हजार उपभोक्ताले ग्यास पाउँथे, अब त्यही परिमाणले करिब २ हजार उपभोक्तासम्म सेवा पुग्नेछ।
यससँगै आधा सिलिन्डर मात्रै उपलब्ध हुँदा ग्यास अनावश्यक रूपमा थुपारेर राख्ने (स्टक गर्ने) प्रवृत्ति पनि घट्ने अपेक्षा निगमले गरेको छ।
भट्टले भने, “आधा सिलिन्डर कसैले पनि धेरै थुपारेर राख्दैन। जसलाई वास्तवमै आवश्यकता छ, उसले मात्रै किन्नेछ।”
निगमको विश्वास छ कि यो निर्णयले बजारमा देखिएको ग्यास अभाव क्रमशः घटाउने र उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउनेछ।








प्रतिक्रिया दिनुहोस्