काठमाडौं, १७ फागुन । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वका देशहरुमाथि बर्सिएका मिसाइलका कारण आफूलाई निद्रा नलागेको बताएका छन् ।
ती देशहरुमा नेपालीहरु पनि रहेकाले उनीहरुको चिन्ताले आफू निदाउन नसकेको ओलीको भनाइ छ ।अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि आक्रमण गरेपछि इरानले प्रत्याक्रमण स्वरुप अमेरिकी सैन्य अड्डालाई लक्षित गरी मिसाइल प्रहार गरेको थियो । त्यसबाट कतार, बहराइन, युएई, कुवेत, इजरायल लगायतका देशहरुमा त्रासको वातावरण सिर्जना भएको थियो ।सोही घटनालाई लिएर एमाले अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्, ‘मध्यपूर्वी देशहरु माथिको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृश्यले आज निद्रा परेको छैन ।
ती देशमा लाखौं नेपाली अपत र कोलाहलमा छन् । तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नु परेको छ ।’उनले थप लेखेका छन्, ‘आज तपाईंहरूलाई पलपल छट्पटी भइरहँदा म निदाउन सकिनँ, बेचैन छु । यसबेला हाम्रो सजगता चाहिन्छ, धैर्य चाहिन्छ ।’ उनले विवेक, धैर्य र साहसको कामना समेत गरेका छन् ।मध्यपूर्वका मुलुकहरु भूराजनीतिक चेपटामा परेको भन्दै ओलीले लेखेका छन्, ‘ती देशहरू पनि पक्कै युद्ध चाहँदैनथे । तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने ।’उनले सौभाग्यबस नेपालमा मिसाइलको धुवाँ भोग्नु नपरेको उल्लेख गरेका छन् । र भनेका छन्, ‘मेरो प्रार्थना छ– कुनै पनि आवरणमा त्यो आउन नसकोस् ।’उनले युएई, इजरायल, इरान लगायत मध्यपूर्वी देशहरूमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई सुरक्षित र सजग रहन आह्वान गरेका छन् । साथै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्