काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न त्यहाँस्थित नेपाली दूतावास अबुधाबीले आग्रह गरेको छ। मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका पछिल्ला परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो।
दूतावासद्वारा जारी विज्ञप्तिमा यूएई सरकार तथा नेपाली दूतावास र महावाणिज्य दूतावासले जारी गर्ने सुरक्षा मार्गनिर्देशन र आधिकारिक सूचनाहरू अनिवार्य रूपमा पालना गर्न सबै नेपालीलाई अपिल गरिएको छ। क्षेत्रीय अवस्थाका कारण सम्भावित जोखिम बढ्न सक्ने भएकाले सचेत रहन भनिएको छ।
विशेषगरी अनावश्यक आवागमन घटाउन, भीडभाड हुने स्थानबाट टाढा बस्न र अफवाहभन्दा आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न दूतावासले आग्रह गरेको छ।
आपतकालीन सूचना, परामर्श वा सहयोग आवश्यक परेमा अबुधाबीस्थित नेपाली दूतावास तथा दुबईस्थित नेपाली महावाणिज्य दूतावाससँग सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ। दूतावासले आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने फोन नम्बर र इमेल ठेगानासमेत सार्वजनिक गरेको छ।








प्रतिक्रिया दिनुहोस्