काठमाडौं । भारतको संघीय मन्त्रिपरिषद्ले केरल राज्यको आधिकारिक नाम परिवर्तन गरी ‘केरलम’ राख्ने प्रस्तावलाई स्वीकृति दिएको छ। यससँगै मलयालम भाषामा प्रचलित मौलिक नामलाई संवैधानिक मान्यता दिने प्रक्रिया अगाडि बढेको छ।
यो विषय केही वर्षदेखि सार्वजनिक बहसमा थियो। नाम परिवर्तनको पहल भाषिक पहिचानसँग मात्र होइन, पौराणिक कथा, ऐतिहासिक सन्दर्भ र प्राचीन अभिलेखसँग समेत जोडिएको छ।
भाषिक पहिचानको प्रश्न
२४ जुन २०२४ मा केरल विधानसभाले राज्यको नाम ‘केरल’ बाट ‘केरलम’ राख्ने प्रस्ताव पारित गरेको थियो। प्रस्तावमा उल्लेख गरिएअनुसार, मलयालम भाषामा राज्यको नाम ‘केरलम’ नै हो। १ नोभेम्बर १९५६ मा भाषिक आधारमा राज्यहरूको पुनर्गठन हुँदा केरल गठन भएको थियो, र प्रत्येक वर्ष १ नोभेम्बरमै ‘केरल पिरावी दिवस’ मनाइन्छ।
तर भारतीय संविधानको पहिलो अनुसूचीमा भने अंग्रेजी रूप ‘Kerala’ नै उल्लेख छ। स्थानीय भाषिक पहिचान र संवैधानिक नामबीचको यही भिन्नता सच्याउन नाम परिवर्तनको पहल गरिएको बताइएको छ।
परशुरामको पौराणिक कथा
पौराणिक मान्यताअनुसार भगवान विष्णुका छैटौँ अवतार परशुराम सँग यस भूभागको उत्पत्तिको कथा जोडिएको छ। कथाअनुसार परशुरामले पृथ्वी दान गरिसकेपछि तपस्याका लागि भूमि आवश्यक परेपछि समुद्रतर्फ आफ्नो बन्चरो फ्याँके। बन्चरो खसेको स्थानसम्म समुद्र पछाडि हट्यो र नयाँ भूमि प्रकट भयो।
‘केर’ (जल) र ‘अलम’ (भूमि) मिलेर ‘केरल’ अर्थात् ‘जलबाट निस्किएको भूमि’ भन्ने अर्थ लागेको विश्वास गरिन्छ।
अशोकका शिलालेखमा उल्लेख
इतिहासका पानामा पनि यस नामको संकेत भेटिन्छ। मौर्य सम्राट अशोक का ईसा पूर्व तेस्रो शताब्दीका शिलालेखहरूमा ‘केरलपुत्र’ शब्द उल्लेख छ, जसको अर्थ ‘केरलका शासक’ वा ‘केरलका सन्तान’ भन्ने हुन्छ। यसले प्राचीन कालमै यस भूभागको अलग पहिचान रहेको संकेत गर्छ।
चेरा वंश र भाषिक रूपान्तरण
दक्षिण भारतका प्राचीन चेरा वंशसँग ‘केरल’ नामको विकास जोडिएको मानिन्छ। केही विद्वानका अनुसार ‘चेरालम’ शब्द समयक्रममा ‘केरलम’ मा रूपान्तरित भयो। द्रविड भाषाहरूमा ‘च’ र ‘क’ ध्वनिको अदल–बदल हुने भएकाले ‘चेरा’ बाट ‘केरा’ र त्यसपछि ‘केरल’ बन्ने भाषिक प्रक्रिया सम्भव मानिन्छ।
‘नरिवलको भूमि’ व्याख्या
अर्को लोकप्रिय व्याख्याअनुसार ‘केरा’ को अर्थ नरिवलको रूख र ‘आलम’ को अर्थ स्थान हो। तटीय भूगोल र नरिवलको प्रचुर उत्पादनका कारण ‘नरिवलको भूमि’ भन्ने अर्थसमेत प्रचलित छ, यद्यपि यसलाई ठोस ऐतिहासिक प्रमाणले पुष्टि गरेको छैन।
नाम मात्र होइन, पहिचानको बहस
‘केरल’ बाट ‘केरलम’ मा रूपान्तरण केवल एक अक्षर थप्ने औपचारिक निर्णय मात्र होइन। यो स्थानीय भाषा, सांस्कृतिक पहिचान र ऐतिहासिक निरन्तरताको सम्मानका रूपमा हेरिएको छ। दुई हजार वर्षभन्दा लामो भाषिक–सांस्कृतिक यात्रापछि राज्यले आफ्नो मौलिक नामलाई आधिकारिक दस्तावेजमा स्थापित गर्न खोजेको विश्लेषण गरिएको छ।








प्रतिक्रिया दिनुहोस्